
विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा नआएपछि उनको खोजी भएको छ ।
सभामुख अग्नि सापकोटाले देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिन समय दिएपछि नेमकिपा सांसद प्रेम सुवालले आपत्ति जनाए ।
‘सभामुख महोदय, प्रधानमन्त्री संसदमा किन उपस्थित हुनुभएन ? बिरामी भएर हो कि विदेश हो कि अस्पतालमा भर्ना भएर हो कि ? यदि प्रधानन्त्री बिरामी हुनुभएको छ भने संसदलाई जाकारी हुनुपर्छ,’ सुवालले भने, ‘विना जानकारी अनुपस्थित हुन मिल्दैन । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ । सामान्य बैठकका कारण संसद छाड्न मिल्दैन, अस्पतालमा भर्ना भएको भए डाक्टरको प्रेस्किप्सन चाहिन्छ ।’
त्यसपछि सभामुख सापकोटाले कार्यव्यस्तताका कारण प्रधानमन्त्री आउन नसकेको पत्र आएकाले गृहमन्त्रीलाई प्रतिनिधि तोकिएको बताए ।
प्रधानमन्त्रीको तर्फबाट मन्त्री खाँणले जवाफ दिइरहेका छन् । यसअघि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए ।