२३ जेठ २०८३, शनिबार

प्रहरीको ‘अपरेसन ह्वाइट डस्ट : ५ अन्तर्राष्ट्रिय तस्कर संगठनले पठाएका थिए ५१ किलो हेरोइन

असार २, २०७९
प्रहरीको ‘अपरेसन ह्वाइट डस्ट : ५ अन्तर्राष्ट्रिय तस्कर संगठनले पठाएका थिए ५१ किलो हेरोइन

लागूऔषध तस्करीको अन्तर्राष्ट्रिय संगठनले नेपालको बाटो प्रयोग गरेको रहस्य खुलेको छ । 

बिहीवार लागूऔषध नियन्त्रण ब्यूरोले ५१ किलोग्राम हेरोइनसहित ७ जनालाई सार्वजनिक गरेसँगै रहस्य खुलेको हो ।

अफ्रिकामा बसेर दुबई, कतार हुँदै नेपालमा लागूऔषधको सञ्जाल सञ्चालन गरेको खुलेको ब्यूरोका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘उनीहरूलाई पक्राउ गरेपछिको प्रारम्भिक अनुसन्धानमा अफ्रिकामा रहेका ५ समूहले नेपालसम्म लागूऔषधको तस्करी गर्दै आएको खुलेको छ,’ एसपी श्रेष्ठले भने । 

प्रहरीले दक्षिण अफ्रिकाबाट संयुक्त राज्य अरब इमिरेट्सको दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको ठमेल आइपुगेका अफ्रिकन नागरिकहरू २९ वर्षीया सीबीसी ठान्डेकिले (पासपोर्ट नम्बर ए०९८२४५७०), ४६ वर्षीया मुरेल क्यूइडुक्वाजी (पासपोर्ट नम्बर ए०६३७६९८१) लाई जेठ २९ गते १६ किलो हेरोइनसहित पक्राउ गरेको छ । दुवै जना अफ्रिकाबाट एउटै उडानबाट नेपाल आएका थिए ।

मुरेल यसअघि गत फेब्रुअरी, मार्च र मे महिनामा समेत नेपाल आएको देखिएको छ ।

जेठ ३० गते अफ्रिकाबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठमेल आइपुगेकी ३६ वर्षीया रोसिनाह ननक्वेले जान्तजीई (पासपोर्ट नम्बर ए०९८२०५२१) र ३९ वर्षीया तास्हावालाला खानयीसीले एभनी (पासपोर्ट नम्बर ए०५८८५७०२) लाई प्रहरीले छुट्टाछुट्टै पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले ८/८ किलो हेरोइन बरामद गरेको छ ।जेठ ३१ गते अफ्रिकाबाट कतारको दोहा हुँदै नेपालमा ३७ वर्षीया मोरोइसे सुझान कोफु (पासपोर्ट नम्बर ए०९२५२१४६) र अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी ३० वर्षीया मार्लेसे बादेनह्रोस्ट (पासपोर्ट नम्बर ए०९१८६०३४) लाई ६/६ किलो हेरोइनसहित ठमेलका छुट्टाछुट्टै होटलबाट पक्राउ गरेको छ ।जेठ २६ गते अफ्रिकाबाट दुबई हुँदै २९ वर्षीया मोहलाको माउरेन (पासपोर्ट नम्बर ए०९८३२६८६) लाई ठमेलको एक होटलबाट ७ किलो हेरोइनसहित पक्राउ गरेको छ ।

वैशाख ३ र ४ गते जामबियन नागरिक ३५ वर्षीया कापुतुला अविशर्ग (राहदानी नम्बर ८४०१३१) र भारतीय नागरिक ३५ वर्षीय लालनुनपुइ (राहदानी नम्बर ८८७९६८७) लाई ७ किलो हेरोइनसहित पक्राउ गरेको थियो । त्यो बेला पक्राउ परेकामाथि गरिरहेको अनुसन्धान विश्लेषणका आधारमा थप व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोका एसपी श्रेष्ठले बताए ।

एसपी श्रेष्ठका अनुसार उनीहरूले लगेजमा भित्र लुकाएर भारततर्फ तस्कर गर्न लागेका थिए । 

‘नेपालमा महंगो लागूऔषधको प्रयोगकर्ता छैनन्, विगतको अनुभवलाई हेर्दा पनि उनीहरूले भारत तस्करी गर्न खोजेको देखिन्छ,’ एसपी श्रेष्ठले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अफ्रिका हुँदै नेपाल आएका उनीहरूको अन्तिमविन्दू नेपाल हो । भारतबाट अर्कै व्यक्ति आएर लागूऔषध लिएर जाने योजनामा थिए ।

पक्राउ परेका महिलालाई पनि भारतबाट को आउँदैछ अथवा कसले लैजाने भन्ने थाहा हुँदैन, अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूले नै तय गर्ने गरेको खुलेको छ । 

नेपाली र विदेशी केटा लगेर सुकुेटे घुम्न गएकी थिइन् तस्कर माउरेन

अफ्रिकाबाट दुबई हुँदै २९ वर्षीया मोहलाको माउरेन काठमाडौं आएपछि ठमेलको एक होटलमा बसिन् । हेरोइन लिने मान्छे समयमै नआएपछि बोर भएको भन्दै उनले नेपाली क्लबमा भेटिएका केही केटा साथीहरू र विदेशी साथीहरू लिएर सिन्धुपाल्चोकको सुकुटेमा रहेको एउटा रिसोर्टमा गएर रमाइलो गरेको खुलेको छ ।

उनले लामो समय बस्नुपरेको भन्दै मुख्य तस्करलाई बताएपछि बाहिर घुम्न जान अनुमति दिएपछि त्यहाँ गएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । घुम्ने क्रममा उनले आफू जहाँ गए पनि फोटो खिचेर सूचना दिने गरेको खुलेको छ ।

हरेक मिनेटको अपडेट मुख्य तस्करलाई

प्रहरीले उनीहरूको मोबाइल नियन्त्रणमा लिएको छ । उनीहरूले कसरी कुराकानी गर्छन् । उनीहरूको सञ्चारको ट्रेन्ड के हो जस्ता विषयको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले हरेक ठाउँमा पुग्दाको फोटो भाइबर, ह्वाट्स एप लगायतका माध्यमबाट मुख्य योजनाकारलाई फोटो पठाउने गरेको खुलेको छ । 

प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्टका अनुसार उनीहरू अफ्रिकाबाट हिँडेको, दुबई एयरपोर्टमा आएकोदेखि खाना खाएको ठाउँको फोटो खिचेर पठाएका छन् । त्यति मात्र होइन, उनीहरू ठमेलमा बसेको होटलको कोठाको फोटो भिडियो, रुम नम्बरको फोटो भिडियो र सुटकेश खोलेर देखाएको अवस्थाको फोटो पनि पठाएका छन् । 

प्रहरीले त्यो फोटो उनीहरूलाई पठाएर लिन आउने व्यक्तिलाई सूचना आदानप्रदान गरेको हुनसक्ने अनुमान गरेको छ । 

एसपी श्रेष्ठका अनुसार त्यसैका आधारमा प्रहरीले विदेशमा रहेका र भारतमा रहेका लागूऔषध तस्कर समूहका नाइकेहरूसमक्ष समेत पुगेको दाबी गरेका छन् । 

प्रहरीको इतिहासमा सबैभन्दा ठूलो ‘अपरेसन ह्वाइट डस्ट’

प्रहरीले अघिल्लो वर्षदेखि ‘अपरेसन ह्वाइट डस्ट’ नाम दिएर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा हुने हेरोइन विरुद्धको अपरेसन चलाइरहेको छ ।

प्रहरीले लागूऔषध विरुद्धका विभिन्न अपरेसनहरू चलाइरहन्छ तर हालसम्म यति ठूलो परिणाममा लागूऔषध नियन्त्रणमा लिएको पहिलो घटना हो । 

यसअघि वर्षमा २ किलो, ४ किलो हेरोइन बरामद गर्दै आएको थियो । आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०७९ वैशाखसम्मको ६ वर्षमा ५२ किलो ९११ ग्राम बरामद गरेको थियो भने अहिले एकैपटक ५१ किलो बरामद गरेको छ । इतिहासमा प्रहरीले एकैपटक नियन्त्रणमा लिएको हेरोइन पहिलो पटक हो ।

पछिल्लो समयमा अफ्रिकाबाट दुबई, कतार हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर लागूऔषध भारत तस्कर हुन लागेको छ । भारतको ठूलो बजारलाई लक्षित गरेर अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी संगठनहरू सक्रिय भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्