२२ असार २०८३, सोमबार

बजेटले करको दरमा गरेको विभेदविरुद्ध रुपन्देहीका उद्योगी आन्दोलित

बजेटले करको दरमा गरेको विभेदविरुद्ध रुपन्देहीका उद्योगी आन्दोलित

सरकारले ल्याएको बजेटमा एउटै प्रकृतिको उद्योगलाई विभेद गरेको भन्दै रूपन्देहीका स्टील उद्योगी आन्दोलित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेको उद्योगीको आरोप छ ।

करको विभेदकारी नीति तुरुन्त परिवर्तन गर्नुपर्ने माग राख्दै उद्योगीहरूले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

सरकारको नीतिका कारण फलामे डन्डीको मूल्य बढ्न जाने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने हुँदा उद्योग बन्द भए ८–१० हजार मजदुर विस्थापनको अवस्थामा पुगेका पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए ।

सरकारले स्पञ्ज आइरन आयात गर्दा लाग्ने भन्सार दर तथा अन्तःशुल्क छुट गरी आफूहरूलाई विभेद गरेको स्टील उद्योगीले गुनासो गरेका छन् । पत्रु पागलेर फलामे छड उत्पादन गर्ने र त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा भन्सार दर १ प्रतिशत र अन्तःशुल्कलाई शून्य प्रतिशतमा झारेका कारण सोझै बिलेड आयात गरेर डण्डी उत्पादन गर्दा महंगो हुने एभरेस्ट रोलिङ इन्डस्ट्रिज प्रालिका सञ्चालक अरुणकुमार गोयन्काले बताए । 

सरकारको विभेदकारी नीति भएको र जिल्लाका स्टील उद्योगी विस्थापित हुने अवस्थामा पुगेका गोयन्काले बताए । आव २०७९/०८० को नयाँ बजेटले कच्चा पदार्थको रूपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको छ । तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तर्राष्ट्रिय प्रचलन रही आएकोमा अहिले अर्थमन्त्रीले कच्चा पदार्थमा पनि अन्तःशुल्क थपेको एसआर स्टील उद्योगका सञ्चालक सुरज उप्रेतीले बताए ।

बिलेटको अन्तःशुल्क प्रतिमेट्रिकटन २ हजार ५०० रुपैयाँबाट बढाएर ३ हजार ५०० पुर्‍याइएको छ । एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्‍याइएको र भन्सार विन्दुमै लगाइने अन्तःशुल्क बढाएर ४ हजार ५०० पुगेको छ । 

नेपालमा स्टील उद्योग ३० वटा छन् । त्यसमध्ये फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरन र पत्रु पगालेर छड बनाउने ८ उद्योग छन् । बाँकी २२ वटा उद्योगले कच्चा पदार्थ वलेटस्बाट छड बनाउँछन् । सरकारले २२ उद्योग प्रत्यक्ष प्रभावित हुने गरी भन्सार महसुल र अन्तःशुल्क दर वृद्धि गरेको छ । ८ उद्योगलाई भने भन्सार महसुल १ प्रतिशत र अन्तःशुल्क पूर्ण रूपमा छुट दिएको छ ।

उद्योगीबीच नै विभेदकारी नियम लागू गरिँदा अधिकांश उद्योग मर्कामा परेका नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । यो व्यवस्थाले नेपालमा सञ्चालित ३० वटा स्टील उद्योगमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डन्डी बनाउने ८ उद्योगलाई मात्र एकपक्षीय रूपमा अत्यधिक लाभ गरेको स्टील उद्योगी बताउँछन् ।
 
उद्योगीको ज्ञापनपत्र बुझ्दै सीडीओ तिवारीले आफूले प्राप्त गरेको ज्ञापन उद्योगी र कामदारको हीतमा रहेका कारण अर्थमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता जनाए ।

बिहीवार कर वृद्धिको विरोधमा उद्योगीले रुपन्देहीको भैरहवामा प्रदर्शन समेत गरेका छन् । जिल्लामा एसआर स्टील प्रालि, पन्चकन्या स्टील प्रालि, पञ्चकन्या वायर प्रालि, रत्ना आयरन इण्डस्ट्रिज प्रालि, विनायक स्पात, काठमाडौं स्टील प्रालि छन् ।

salt training

कमेन्ट गर्नुहोस्