
४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट ५७.७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् ।
१९औं दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी ४ महिनायता चोट ग्रस्त थिइन् । राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन् ।
३ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ आर्मीकी पूर्ण लक्ष्मी न्यौपानेले ४ मिनेट ५८ दशमलव ०२ सेकेण्डका साथ रजत पदक हात पार्दा एपीएफकी आशा राउतले ५ मिनेट ०५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै कास्य जितिन् ।
प्रतिस्पर्धाको पुरुषतर्फ रजत जितेका एपीएफका अजित भण्डारीले दूरी पार गर्न ३ मिनेट ५८ दशमलव ८ सेकेण्डको समय खर्च गरे ।
कास्य पदक आर्मीका सुनिल सुनारले जिते । उनले ४ मिनेट ०१ दशमलव ७ सेकेण्डको समय खर्च गरे ।
नेपाल एथलेटिक्स संघको आयोजनामा शुक्रवारबाट शुरू भएको प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा ७ प्रदेश र ३ विभागका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।