०५ साउन २०८३, मंगलबार

विलासी उपमेयरलाई गाडीपछि साडीको फण्डाः सरकारी कोषबाटै बाँडियो महिला जनप्रतिनिधिलाई कपडा

असार १३, २०७९
विलासी उपमेयरलाई गाडीपछि साडीको फण्डाः सरकारी कोषबाटै बाँडियो महिला जनप्रतिनिधिलाई कपडा

मोरङको बेलबारी नगरपालिकाले महिला जनप्रतिनिधिलाई साडी वितरण गरेको छ । 

विरोध भएपछि उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने निर्णयबाट पछि हटेको नगरपालिकाले नगर सभामा पोसाकका रुपमा महिला जनप्रतिनिधिलाई साडी वितरण गरेको हो । 

असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर उनीहरूलाई साडी दिइएको हो । 

उपमेयर नितु थापा कोइरालाले ६ हजार मूल्य बराबरको साडी खरिद गरेर महिला जनप्रतिनिधिहरूलाई दिएकी थिइन् ।

नगरपालिकाको लेखा शाखाले उनीहरूकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । लेखा शाखाका एक कर्मचारीका अनुसार कार्यपालिकाको निर्णयअनुसार बजेट पठाउने तयारी गरिएको हो । 

‘कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो दायित्व हो,’ ती कर्मचारीले भने, ‘भ्याटसहितको ६ हजार पठाउने तयारी गरेका छौँ ।’

कार्यालयले आफूहरूलाई भ्याट कटाएर ६ हजार रूपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । ‘६ हजारमा ल्याएको भनिएको छ, साडी हेर्दा त्यति पर्ला जस्तो छैन,’ उनले भनिन् । 

उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकामा निर्वाचित भएका हुन् । २९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ ।

यस्तै पुरुष जनप्रतिनिधिलाई नगर सभामा कागजपत्रहरू राख्न तीन हजार ५०० रूपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर्भूज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । तीन कार्यपालिका सदस्यसहित ३७ जनप्रतिनिधिलाई झोला वितरण गर्दा १ लाख २९ हजार ५०० रूपैयाँ खर्च भएको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४३३ रुपैयाँको बजेट सभामा पेश गरेको छ ।

यसअघि उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको थियो । लोकान्तरमा समाचार प्रकाशित भएपछि नगरपालिका सो निर्णयबाट पछि हटेको थियो । 

यो पनि पढ्नुहोस्


salt training

कमेन्ट गर्नुहोस्