
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच पार्टीगत या कार्यगत एकता नगरे आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् । उनले कम्युनिस्ट आन्दोलन धरासायी भएको बेला चुप लागेर बस्न नसकेको बताए ।
‘७३ वर्षको मान्छे कति बाँच्छु थाहा छैन । कम्युनिस्ट आन्दोलन धरासायी हुँदैछ । कम्युनिस्ट आन्दोलन धरासायी भएको बेला चुप लागेर बस्न हुन्न भनेर नयाँ अभियान थालेको हुँ,’ गौतमले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । चुनावमा कम्युनिस्टबीच कार्यगत एकता गर्न नसके कांग्रेसले या बहुमत प्राप्त गर्नेछ, नभए पनि ठूलो पार्टी बन्छ । त्यसपछि पाँच वर्षसम्म कांग्रेसको नेतृत्वमा संरचना रहनेछ ।’
पाँच वर्ष सरकार चलाउन पाए त्यसपछि कांग्रेस एक्लै चुनाव जित्ने अवस्थामा पुग्ने गौतमले बताए । ‘कांग्रेसको नेतृत्वमा देश विकास र समृद्धि हुन्छ भन्ने विश्वास नलागेर देशको लागि कम्युनिस्ट आन्दोलन एकीकृत गर्न लागेको हुँ,’ गौतमले भने ।
कम्युनिस्ट पार्टीबीच शत्रुतापूर्ण सम्बन्ध रहेका बेला सबैलाई मिलाएर लैजाने गौतमले बताए ।