२२ असार २०८३, सोमबार

केशवटारका ५६ जनालाई लालपुर्जा वितरण

केशवटारका ५६ जनालाई लालपुर्जा वितरण
प्रतिकात्मक तस्वीर

नापी कार्यालय तनहुँले व्यास नगरपालिका–१४ केशवटारका ५६ जनालाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ ।

साविकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५६ जनालाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

कार्यालयले गाउँ ब्लकअन्तर्गत सबै परिवारलाई पुर्जा वितरण गर्ने लक्ष्यका साथ पुर्जा वितरणलाई निरन्तरता दिइरहेको आचार्यले बताए । कार्यालयसम्म आउन अप्ठ्यारो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरिएको उनले बताए ।

‘सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौं,’ उनले भने ।

तनहुँमा विक्रम संवत् २०७१ सालदेखि गाउँ ब्लक नाप्न शुरू गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । सबै ठाउँको नापी सम्पन्न भइसकेको जनाइएको छ । उनका अनुसार साविक मैवलका केही ठाउँमा लालपुर्जा वितरण गर्न बाँकी छ । 

कार्यालयले यो वर्ष ऋषिङ गाउँपालिका–४ भिरकोटका १०१, बन्दीपुर गाउँपालिका–६ धरमपानीका ६५ जनालाई पनि लालपुर्जा वितरण गरिसकेको छ । पुर्जा पाएपछि स्थानीय खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए ।

विक्रम संवत् २०२९ देखि २०३२ सालसम्म तनहुँमा पहिलोपटक नक्सानाप गरिएको थियो । 

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

यसैबीच खोलाले बगाएर घाइते भएका बालिकाको उपचारका लागि व्यास नपाले ५० हजार सहयोग उपलब्ध गराएको छ । खोलाले बगाएर घाइते भएकी तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी ४ वर्षीया बालिका युविना थापामगरको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्