कवीन्द्र सिटौला ‘जिज्ञासु’को पहिलो कवितासंग्रह ‘हृदयका स्पन्दनहरू’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक विमोचन गरे । सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा कुलपति उप्रेतीले ‘मैले बिताएको युग’ एक सय वर्ष अघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशको दस्तावेज भएको बताएका छन् । उनले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै कविता यात्रालाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैँमा एउटा कृति भएको उल्लेख गरिन् । उनले भनिन् ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो ।’
प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कविता कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन जगतका विभिन्न पाटाहरू अभिव्यक्त भएको बताए । कवीन्द्रको काव्य साधना यात्रा पुरानो भए पनि उनी दृश्यमा ढिलो आएको उल्लेख गरे ।
‘मैले बिताएको युग’ की सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका बारेमा सोध्दै डायरी लेख्दै गएको र आज त्यही डायरीले पुस्तकको रूप लिएको बताइन् । आत्मकथा राधिकाले सम्पादन गरेकी हुन् ।
कार्यक्रममा कृतिकार मनमाया सिटौलाले पूर्वेली लोकभाका गाएर सुनाएकी थिइन् । हरिचरण सिटौला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विजया पन्त, कवीन्द्र सिटौला, डा. वसन्त पन्तलगायतले बोलेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोहनलाल सिटौलाले आफ्नो परिवारभित्रबाट साहित्य सिर्जनामार्फत समाजलाई ऐना देखाउने काम भइरहेकोमा खुशी व्यक्त गरे । साहित्यमा युवा पुस्ता सक्रिय भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मोहनलाल मनमायाका जेठा छोरा हुन् ।