
ललितपुरमा स्कुटरको डिकीमा हातहतियार बरामद गरिएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
हातहतियार प्रकरणमा सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठलाई फसाउन खोज्ने अध्यक्ष अनिल श्रेष्ठ र निवर्तमान उपाध्यक्ष अख्खनदास श्रेष्ठ पक्राउ परेका हुन् ।
प्रहरीले असार १३ गते ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभु बस्ने ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीबाट २ राउन्ड गोली सहितको पेस्तोल बरामद गरिएपछि श्रेष्ठलाई तत्कालै पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा नयाँ तथ्य खुलेपछि थप २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजाना आपराधिक षड्यन्त्र मुद्दामा अदालतबाट हिरासतमा राख्ने अनुमति लिई गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्त अनिल श्रेष्ठले सर्लाही जिल्ला घर भई हाल लुभू बस्ने शिवजी महतोको पत्नी सरस्वती खत्रीलाई भगाई दोस्रो विवाह गरेकाले अनिल श्रेष्ठ र सरस्वतीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरबाट २०७८ चैत १७ गते बहुविवाह मुद्दा दर्ता गरी अनुसन्धान तथा कारवाही भएकोमा श्यामकृष्ण श्रेष्ठ र शिवजी महतो मिल्ने साथी भएकाले श्यामकृष्ण श्रेष्ठले अनिल श्रेष्ठविरुद्ध अदालतमा साक्षी बकपत्र गरेको हुँदा अनिलले श्यामकृष्णलाई भित्री रूपमा दुस्मनी लिएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अध्यक्ष श्रेष्ठले सहकारी संस्थाबाट आफ्नो र परिवारको नाममा गरी २ करोड पन्चान्नब्बे लाख रुपैयाँ कर्जा निकालेकोमा सोको ब्याज तथा साँवा रकम समेत नतिरी कर्जा अनियमित भएकाले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले अनिललाई पटक–पटक ताकेता गरेकाले श्यामकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठबीच मनमुटाव रहेको पाइएको छ ।


व्यवस्थापक श्रेष्ठ पक्राउ परेको असार १३ गतेभन्दा पहिले जेठ २५ गते समेत अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली रहेको सूचना दिएको र स्कुटरलाई बरामद गर्नका लागि प्रहरी परिचालन गरिएकोमा फेला नपरेको, जेठ २५ गते अनिल श्रेष्ठ सहकारीमा जानुपर्ने कुनै कारण नदेखिए पनि श्यामकृष्ण श्रेष्ठ पक्राउ नपरेकाले आफैं सहकारी कार्यालयको पार्किङ एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट हतियार निकालेको १५ः३८ बजेको समयमा सहकारीमा जडित सीसीटीभीमा कैद फुटेजबाट देखिएको प्रहरीले जनाएको छ ।
असार १३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश३–०२–०१२प ६२४१ नम्बरको स्कुटर चढी लगनखेलस्थित मालपोत कार्यालयमा जान भनी हिँडेपछि अनिल श्रेष्ठले कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार रहेको भनी सूचना दिएको र आफैंले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेसन जानकारी गराई लगातार अवैध हतियारको सूचना दिएको, श्यामकृष्ण श्रेष्ठले चढ्ने प्रदेश ३–०२–०१२प ६२४१ नम्बरको स्कुटर सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति भएको र विगत १ वर्षदेखि श्यामकृष्णले चढ्दै आएको भए तापनि स्कुटरको अर्को साँचो निवर्तमान उपाध्यक्ष अख्खन दास श्रेष्ठसँग भएकोमा अख्खनले करीब २५ दिनअघि साँचो अनिल श्रेष्ठलाई दिइसकेको बताएको हुँदा अनिल श्रेष्ठसँग स्कुटरको दोस्रो साँचो भएकाले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा पूर्व रिसइबी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असर समेतको कारण श्यामकृष्ण श्रेष्ठलाई फसाउन अभियुक्त अनिल श्रेष्ठले आपराधिक षड्यन्त्र गरेको देखिन आएको प्रहरीले जनाएको छ ।