
पतिपत्नीबीच विवाद वा सम्बन्धविच्छेद हुन कुनै गम्भीर विषय हुनुपर्छ । तर अफ्रिकी देश युगान्डामा एक पतिले पत्नीलाई यसकारण छाडेका छन् कि पत्नीले पाँचौंपटक जुम्ल्याहा बच्चा जन्माइन् ।
पत्नी नलोगो ग्लोरियाले हालै नवौं र दशौं सन्तानका रूपमा जुम्ल्याहा बच्चा जन्माएकी छन् । त्यसपछि पति स्लोगोले पत्नीलाई छाडेका छन् । पति घर छाडेर कहाँ गएका छन् भन्नेबारे कसैलाई पनि जानकारी छैन ।
ग्लोरियाले भनिन्, ‘जब मबाट तेस्रोपल्ट जुम्ल्याहा बच्चा जन्मिएका थिए ,त्यतिबेला पतिले धेरै भइसक्यो भनेका थिए । अनि मलाई घर छाडेर जान धम्की समेत दिएका थिए । अहिले पति कहाँ गएका छन् भन्ने मलाई थाहा छैन ।’
पतिले छाडेर गएपछि ग्लोरियाले आफू बस्ने घर भाडा समेत तिर्न सकेकी छैनन् । यस्तो जटिल परिस्थितिलाई उनले भगवान् भरोसा छाडेकी छन् । तर उनलाई जुम्ल्याहा बच्चा जन्माएकोमा कुनै अफसोच छैन ।