
रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान परेकी छन् ।
गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उनलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उनी ठीक हुन सकेकी छैन । “काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठीक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भने, “विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।” मासिकरुपमा रु २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उgले गुनासो गरे ।
कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उहाँले दुःखेसो पोखे । श्रीमतीको थप उपचारका लागि उनले दातृ निकायसँग आग्रह गरेका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान परेकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा रु १० हजार सहयोग गरेको बताए।
नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ ।
ओछयानमा रहदा हुने घाउ(वेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताइन् । नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।