
लोक गायिका दिलमाया कामी सुनवारको हत्या गरेको अभियोग लागेका उनका प्रेमी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
असार ११ गते काठमाडौको तारकेश्वर ११ डेरामा बसेकी दिलमाया मृत फेला परेकी थिइन् । त्यसको अर्को दिन उनका प्रेमी सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले उनले नै हत्या गरेको प्रतिवेदन सरकारी वकिलमार्फत अदालतमा लगेको थियो । त्यही प्रतिवेदनका आधारमा उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
उक्त घटनालगत्तै तत्कालै प्रहरी बृत्त बालाजुबाट अनुसन्धान अधिकृतसहितको प्रहरी नायव उपरीक्षकको टोली परिचालित गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको पनि टोली अनुसन्धानमा खटिएको थियो ।
अनुसन्धानका क्रममा काठमाडौंको महाराजगन्जबाट मृतकको सेतो गुलाबी रङको बुट्टे सल प्रहरीले बरामद गरेको थियो ।
