
विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले ३ करोडभन्दा बढी मूल्यको गाडी कुदाउने गरेका छन् ।
कोइरालाले बुझाएको सम्पत्ति विवरणअनुसार उनले टोयोटाको प्राडो गासड कुदाउने गरेका छन्, जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । प्राडो पैतृक सम्पत्तिबाट खरिद गरिएको जनाइएको छ ।
कोइरालालाई विराटनगरकै धनाड्य व्यक्ति भनेर चुनावको समयमा हल्ला गरिए पनि उनले बुझाएको सम्पत्ति विवरणमा यसअघि चर्चा गरिएजस्तो धेरै देखिएको छैन । उनले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ विगाहा जग्गा रहेको उल्लेख गरेका छन् ।
कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्रै बुझाएको उनका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठले बताए । ‘उहाँले आफ्नो नाममा रहेको जग्गाको विवरण बुझाउनुभएको हो,’ उनले भने, ‘यो नितान्त उहाँको नाममा रहेको जग्गाको मात्रै विवरण हो ।’
विवरणअनुसार विराटनगर–१५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कट्ठा जग्गा कोइरालाको नाममा छ । सबै जग्गा आफ्नो पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ । विराटनगर–११ मा पैतृक सम्पत्तिबाट पाएको ११ कट्ठा जग्गा पनि आफ्नो रहेको उनले बताए, यद्यपि जग्गा भाइको नाममा रहेको कैफियतमा उल्लेख छ ।
कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताएका छन् । त्यसबेला ८ लाख रुपैयाँमा सुन किनेको उनले बताए । सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको जनाइएको छ । नगद पनि पैतृक सम्पत्तिबाटै आएको उनले उल्लेख गरेका छन् ।