२१ जेठ २०८३, बिहीबार

मुम्बई शहरमा यसरी टाँसिएको छ ‘प्रेम गीत–३’ को पोष्टर [तस्वीरहरू]

मुम्बई शहरमा यसरी टाँसिएको छ ‘प्रेम गीत–३’ को पोष्टर [तस्वीरहरू]

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । असोज ७ गते अर्थात सेप्टेम्बर २३ देखि प्रदर्शनमा आउने चलचित्र हिन्दी भाषामा डब भइसकेको छ । चलचित्र नेपाल र भारतमा एउटै नामबाट प्रदर्शनमा आउँदैछ । नेपाल र भारतमा चलचित्रको प्रचारप्रसार शुरू भइसकेको छ । 

निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ यतिबेला मुम्बईमा छन् । हिन्दी संस्करणको पोष्टर सार्वजनिक गर्न मुम्बई पुगेका उनीहरू अझै केही दिन उतै रहनेछन् । भारतका लागि चलचित्रको प्रतिलिपि लिएको कम्पनीले प्रचारप्रसार शुरू गरिसकेको छ ।

मुम्बई शहरमा चलचित्रका पोष्टरहरू टाँसिएको छ । बलिउड र हलिउड चलचित्रका मात्र पोस्टर टाँसिने मुम्बईमा नेपाली चलचित्र ‘प्रेम गीत ३’को पोष्टर टाँसिदा निर्माता सेन दंग छन् । निर्माता सेनले मुम्बई शहरमा पोष्टर टाँसिएका केही तस्वीरहरू फेसबुकमा शेयर गरेका छन् । उनका अनुसार मुम्बई मात्र नभएर भारतका विभिन्न शहरमा ‘प्रेम गीत – ३’को पोष्टर टाँसिएको छ । 

निर्माता सेनले भारतका सहरमा यसरी नेपाली चलचित्रको पोष्टर टाँसिनु आफ्नो लागि मात्र नभएर समग्र नेपालीहरूका लागि ठूलो खुशी र गौरवको कुरा भएको बताएका छन् । 

उनी भन्छन, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली चलचित्रको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने विषय होइन । र, आम नेपालीहरूका लागि ठूलो खुशी र गौरवको कुरा हो ।’

यदि भारतीय भाषामा ‘प्रेम गीत ३’ ले राम्रो गर्न सकेको खण्डमा यसको फाइदा सबैलाई हुने सेनको भनाइ छ । उनले चलचित्रलाई खुलेर साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । 

हिन्दी भाषाको ‘प्रेम गीत ३’ पोस्टरलाई लिएर बलिउडकर्मीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाबाट पनि सेन खुशी छन् । चलचित्रको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको छ । 

छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रको प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । चलचित्रमा प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, सन्तोष सेनलगायतको अभिनय छ । 

चलचित्रको लेखन निर्देशक छेतन र मन्दिप गौतम मिलेर गरेका हुन् । सेप्टेम्बर १ मा ‘प्रेम गीत–३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक हुँदैछ । मुम्बई शहरमा नेपाली चलचित्रको पोष्टर टाँसिएकोमा यतिबेला नेपाली चलचित्रकर्मीहरू खुशी व्यक्त गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्