
काठमाडौँका तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान भएको हत्यामा ज्यान गुमाएका चारै जनाकाृ शव आफन्तलाई जिम्मा लगाइएको छ ।
उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गएको थियो ।
अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेलले परिवार नै समाप्त हुन पुगेको छ । घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ । सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ ।
उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।
नेपाल प्रहरीले घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण गर्ने चिकित्सक (फरेन्सिक विज्ञ) डा गोपाल चौधरी र आयुष उपाध्यायको उपस्थितिमै शव जाँच र मुचुल्का उठाएको थियो । आज परीक्षण सम्पन्नपछि परिवारले शव बुझेका हुन् ।
दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् ।