
बैतडीमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेका छन् ।
बँदेल, बाँदर र दुम्सीले बालनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।
खास गरेर मुख्य खाद्य बालीको रूपमा रहेको मकैबाली ती जनावरले नष्ट गर्न थालेका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदेलले मकैबाली र अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका हरिश जोशीले बताए ।
जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानलाई धौंधौं परेको छ । उनले भने, ‘दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौंधौं परेको छ । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ ।’
पाक्नै तयारीमा रहेको मकैलाई जंगली जनावरले नष्ट गर्न थालेपछि समस्या भएको छ । उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ, रातको निद्रा छैन, दिनमा भोक छैन ।’
मकैको घोका लागेको बेलादेखि नै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । बाँदर र बँदेलले लगातार रूपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको दशरथचन्द नगरपालिका– ५ का रमेश भट्टले जानकारी दिए ।
रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसानले बताएका छन् । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल रहेको सुर्नया गाउँपालिकाका स्थानीय वासिन्दा सुरेश महराले बताए । ‘बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको छ । रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधन टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौं,’ उनले भने, ‘हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौं । थाल ठटाउने पनि गरिएको छ ।’
बाँदरले मकैबालीसँगै आँप, अनार, लगायतका फलफूल पनि नष्ट पार्ने गरेको पाटनकी स्थानीय भागरथी भट्टले जानकारी दिइन् । वर्षेबालीका साथै फलफूल पनि जंगली जनावरले नष्ट गर्ने र जंगलमा मेलापात जान पनि जंगली जनावरको डर हुने गरेको छ । उनले भनिन्, ‘बालीनाली र फलफूल त सखाप पार्दै गएका छन् घासँ, दाउराका लागि जंगल जान समेत जंगली जनावरको डर हुने गरेको छ ।’
वर्षेबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् ।