
हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई रु १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।
लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत जनाएको छ ।
हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताए । भाडा रकम नलिने अधिकार आफूहरूसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उनले उद्योगीलाई आग्रह गरे । चार वर्ष अगाडि निर्णय भएको भाडा रकम उद्योगले भुक्तानी नगरेको पाइएकाले साउनभित्र भुक्तानी गर्न बिल पठाएको उनले बताए ।
हेटौंडा औद्योगिक क्षेत्रको प्रतिरोपनी रु आठ हजार तीन सय ३१ तिर्दै आएका उद्योगले अब रु १९ हजार छ सय ९१ का दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिडारीले बताए । लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा बढी जग्गा लिएका उद्योगले उक्त जग्गा अन्य उद्योगलाई प्रयोग गर्न दिनुपर्ने समेत उनको भनाइ छ ।
उद्योग संघ हेटौँडाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनको २०५७ मंसिर ५ गतेको निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि समस्या देखिएको हो । यतिबेला आर्थिक मन्दीले औद्योगिक प्रतिष्ठान समस्यामा पर्न लागेको अवस्थामा पनि सरकारले चार वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न खोज्नु असान्दर्भिक भएको उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष लेखराज पोखरेलले बताए ।
गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको उनले बताए । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको उनको भनाइ छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध गरेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकाप्रति उद्योगी व्यवसायी एवं संघको असहमति रहेको बताए । रासस