
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रंगको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रंगको सीएफ मोटरसाइकल, रातो रंगको पल्सर मोटरसाइकल र प्रदेश नम्बर प्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को २४१ अनुसार ‘चोरी सम्बन्धी कसूर’मा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।