३० जेठ २०८३, शनिबार
गाउँका सिंहदरवारको बेथिति

पार्टीनिकट ठेकेदारलाई घाटा लागेपछि क्षतिपूर्ति दिँदै पथरीशनिश्चरेका मेयर, ६४ लाख राजस्व गुम्ने

साउन २६, २०७९
पार्टीनिकट ठेकेदारलाई घाटा लागेपछि क्षतिपूर्ति दिँदै पथरीशनिश्चरेका मेयर, ६४ लाख राजस्व गुम्ने

मोरङको पथरी शनिश्चरे नगरपालिकाले ठेकेदार कम्पनीले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएको भन्दै क्षतिपूर्ति दिने भएको छ ।

नेकपा एमालेबाट नवनिर्वाचित मेयर मोहनप्रसाद तुम्वापो आफ्नै पार्टीनिकट रहेका ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाख ३९ हजार ९५२ रुपैयाँ क्षतिपूर्ति दिन लागेका छन् ।

गत असार १० गते बसेको नगर सभाले क्षतिपूर्ति दिने निर्णय पारित गरेको छ । पथरी शनिश्चरेमा एमालेले मेयर/उपमेयर नै जितेको थियो । यसअघि पनि नगरपालिकामा एमालेले नै जितेको थियो ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा एमाले मोरङका जिल्ला कमिटी सदस्य भुपाल श्रेष्ठको बीएण्डबी कन्सट्रक्सले नदी उत्खनन् गर्ने ठेक्का लिएको थियो ।

असार ८ गते बसेको कार्यपालिका बैठकले ठेकेदार कम्पनीलाई रकम दिने निर्णय गरेको थियो तर नगरपालिकाको आर्थिक प्रशासन शाखाले ठेकेदार कम्पनीलाई क्षतिपूर्ति दिने निर्णय नीतिगत नभएको भनेर राय समेत पेश गरेको थियो । कार्यपालिका बैठकअघि प्रमुख प्रशासकीय अधिकृतले रकम दिनेबारे लेखासँग राय मागेका थिए । सम्झौता गर्दा कन्सट्रक्सनले सम्झौता गरेको रकम कुनै पनि बहानामा फिर्ता माग्ने छैन भनी कबुलियतनामा गरेकाले रकम फिर्ता गर्न नमिल्ने भनेर शाखाले राय दिएको थियो ।

कार्यपालिकामा समेत बहुमत रहेकाले मेयरकै दबाबमा क्षतिपूर्ति दिने निर्णय भएको एक कार्यपालिका सदस्यले बताए । मेयर र उपमेयरको दबाबमा नगर सभाबाट समेत निर्णय पारित गरिएको छ । नगर कार्यपालिका र नगर सभाको निर्णय हालसम्म पनि गोप्य नै राखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि डाँस खोला उत्खनन् गर्न बीएण्डबी कन्सट्रक्सनसँग भ्याटबाहेक १ करोड १६ लाख रुपैयाँमा ठेक्का भएको थियो । सम्झौतापछि ठेकेदार कम्पनीले ५१ लाख ८० हजार ४०० रुपैयाँ नगरपालिकालाई नगद बुझाएको थियो । ६४ लाख ३९ हजार ९५२ रुपैयाँ सानिमा बैंकको चेक दिएर बैंक ग्यारेन्टी राखेर बीएण्डबीले कन्सट्रक्सनले चैतबाट काम शुरू गरेको थियो । ठेकेदार कम्पनीले शुरूमै एकमुष्ट रकम बुझाउनुपर्ने हुन्छ तर यहाँ भने एकमुष्ट रकम समेत बुझाइएको थिएन । 

काम शुरू गरे पनि सम्झौता अवधि भित्रमा ठेक्का बापतको रकम नबुझाएपछि नगरपालिकाले बैंक ग्यारेन्टी राखेको ६४ लाख ३९ हजार ९५२ रुपैयाँ राजस्व खातामा जम्मा गरेको थियो । 

त्यसपछि ठेकेदार कम्पनीले नदीजन्य पदार्थ उत्खनन्मा स्थानीयले अवरोध गरेका कारण काम गर्न नपाएको भन्दै बैंक ग्यारेन्टी राखेको रकम ६४ लाख ३९ हजार ९५२ रुपैयाँ माग्दै नगरपालिकामा निवेदन दिएको थियो । 

ठेक्का सम्झौतामा पथरीशनिश्चरे–८, ९ र १० वडा भित्रका ४ ठाउँबाट डाँस खोलाको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन् गर्ने उल्लेख छ । नगरपालिकाको प्राविधिक शाखाले दिएको जानकारी अनुसार पथरीशनिश्चरे–९ त्रिवेडी घाटबाट २ लाख ३८ हजार ३४२.५ घनफिट, ८ नम्बर वडाको बिसबिघेबाट ८ लाख ५४ हजार २१९.५ घनफिट, १० नम्बर वडाको पशुपतिनगरबाट ४ लाख ७६ हजार ६८५ घनफिट र बक्रहा डाँसघाटबाट ४ लाख २६ हजार ८९६.८८ घनफिट नदीजन्य पदार्थ उत्खनन् गर्ने सम्झौता पत्रमा उल्लेख छ । ४ ठाउँबाट जम्मा १९ लाख ९६ हजार १४४.८८ घनफिट उत्खनन् गर्ने सम्झौता छ ।

सम्झौता अनुसार उत्खनन् गर्न नपाएकाले सहजीकरण गरिदिन भन्दै २०७९ वैशाख र जेठको पहिलो हप्तामा ठेकेदार कम्पनीका तर्फबाट नगरपालिकामा निवेदन परेको थियो । स्थानीयले अवरोध गरेका कारण नगरपालिकाका प्राविधिकले ८ लाख ८६ हजार ८७६.४७ घनफिट मात्र नदीजन्य पदार्थ उत्खनन् गरेको रिपोर्ट तयार पारेका छन् तर बिसबिघे क्षेत्रमा व्यापक उत्खनन् भएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा ठेकेदार कम्पनीले स्काइभेटर प्रयोग गरेर ३–४ फिट गहिरो खाडल बनाएर उत्खनन् गरेको थियो ।

‘विशेष परिस्थितिबाहेक राजस्व उठ्ने गरी सम्झौता भएको कुनै पनि रकम फिर्ता दिन मिल्दैन,’ मोरङकै एक प्रमुख प्रशासकीय अधिकृतले भने, ‘यदि कसैले त्यस्तो गर्‍यो भने महालेखाले फिर्ता गर्न लगाइहाल्छ नि ! सम्झौता अनुसार उत्खनन् गरेको छ/छैन भन्ने मापन नै स्थानीय तहमा हुँदैन । त्यसरी राज्यको पैसा बाँड्नु भनेको यो नीति नियमभित्र पर्दैन ।’

मेयर मोहनप्रसाद तुम्वापोले एउटा निर्णयको पछाडि पत्रकार लागेको भनेर आक्रोश समेत पोखे । उनले नगरपालिकाबाट प्राविधिक जाँच गर्दा रकम फिर्ता गर्नुपर्ने देखिएपछि कार्यपालिका र नगर सभाले नै रकम फिर्ता दिने निर्णय गरेको बताए । 

नदीजन्य राजस्व बाँडफाँट अन्तर्गत उत्खनन् बापत प्राप्त हुने रकममध्ये ६० प्रतिशत नगरपालिकाले राख्ने र ४० प्रतिशत प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने कानूनी व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्