×

NMB BANK
NIC ASIA

मन्त्रीहरूको चुनावी हिसाब

सरकारका २४ मन्त्री– चुनावमा को कति सुरक्षित ?

देउवा र जनार्दनलाई 'हाइसञ्चो', अधिकांश गठबन्धनको भरमा

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ ।

Muktinath Bank

जागिर धान्न सिंहदरबार गएपनि मन्त्रीहरू बिहान बेलुका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । अरू बेला भोटेताल्चा लाग्ने मन्त्री क्वार्टरमा अहिले जिल्लाका नेतालाई प्रवेश सहज छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ । गठबन्धनले कार्यदल बनाएर सीट बाँडफाँडको गृहकार्य थालेका छन् । 


Advertisment
Nabil box
Kumari

गठबन्धन बन्ने भएकाले अधिकांश मन्त्रीहरू चुनाव जित्नेमा आशावादी छन् । तर, कतिपय निर्वाचन क्षेत्र तालमेल भएपनि सुरक्षित छैनन् ।

Vianet communication
Laxmi Bank

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतका आधारमा कुन निर्वाचन क्षेत्र बलियो र कमजोर भनेर विभिन्न खालका विश्लेषण भइरहेका छन् । 

स्थानीय तह चुनावमा पाएको मत प्रतिनिधिसभा चुनावमा आउँछ भन्ने पक्का छैन । उम्मेदवारको व्यक्तिगत प्रभाव र लोकप्रियता पनि चुनाव हारजीतको आधार बन्छ । 

विगतको प्रतिनिधिसभा निर्वाचन र यसपटक स्थानीय तहको निर्वाचनका आधारमा सरकारमा सहभागी मन्त्रीहरूको विश्लेषण गर्न सकिन्छ ।

शेरबहादुर देउवा    

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा २०४६ सालपछि भएका सबै निर्वाचन जित्ने एक मात्र कांग्रेस नेता हुन् । डडेल्धुराबाट उनले लगातार ६ पटक चुनाव जितेका छन् ।

विगतमा वामपन्थी दलहरू एक ठाउँ हुँदा पनि चुनाव हराउन नसकेकाले देउवा यसपटक झन् ढुक्क देखिएका छन् ।

अघिल्लोपटक देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए ।

कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ ।

स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय मत पाएका छन् । नेकपा एसको ५ हजार ४१ मत छ । 

पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टी छाडेर कांग्रेस बीपीमा लागेपनि देउवा चिन्तित छैनन् । सार्वजनिक कार्यक्रममा देउवालाई चोटिलो प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले समेत डडेल्धुरा पुगेर चुनावी अभियान शुरू गरेका छन् । देउवालाई कैलाली र कञ्चनपुरबाट पनि चुनाव लड्न प्रस्ताव आएको छ ।

२०६४ सालको संविधानसभा चुनावमा देउवा कञ्चनपुरबाट पनि विजयी भएका थिए । तर देउवाले डडेल्धुराबाट नै चुनाव जित्ने कांग्रेसका एक नेताले बताए ।

‘देउवासँग प्रतिष्पर्धा गर्न सक्ने अर्को उम्मेदवार त्यहाँ छैन, कसैले चर्चामा आउनका लागि डडेल्धुराबाट चुनाव जित्छु भनेर रहर गर्नु बेग्लै कुरा हो,’ कांग्रेस सुदुरपश्चिम समितिका एक नेताले भने, ‘देउवाको किस्मतमा चुनाव हार्न लेखेको छैन ।’ एमालेका तर्फबाट अहिलेसम्म देउवासँग भिड्ने पात्रको टुंगो लागेको छैन ।

बालकृष्ण खाँण    

सरकारमा दोस्रो वरीयतामा रहेका गृहमन्त्री बालकृष्ण खाँण कांग्रेसका प्रभावशाली नेता हुन् । 

विगतमा पटक–पटक प्रत्यक्ष चुनाव जिते पनि २०७४ सालमा खाँण समानुपातिक प्रणालीबाट संसद्मा आएका थिए । खाँण चुनाव लडेको क्षेत्रबाट २०७४ सालमा एमालेका घनश्याम भुसाल विजयी भएका थिए । कांग्रेसले राप्रपाका दीपक बोहोरालाई उठाएको थियो । 

यसपटक भने खाँण चुनाव लड्ने तयारीमा लागेका छन् । यसबीचमा खाँणले निर्वाचन क्षेत्र फेर्ने चर्चा पनि चलेको थियो । 

हेर्नुहोस यो पनि :

तर, खाणले रुपन्देही– ३ बाटै चुनाव लड्ने तयारी गरेको रुपन्देहीका कांग्रेस नेताहरू बताउँछन् ।

विगतमा एमालेले जिते पनि यसपटक कांग्रेसका लागि अनुकूल रहेको रुपन्देहीका नेताहरू बताउँछन् ।

निर्णायक मत रहेको तिलोत्तमा नगरपालिकाको मेयरमा खाँणका भाइ नै विजयी भएका छन् । 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले धेरै भोट पाएको छ । चुनावको शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्रीलाई सुरक्षा स्रोतले चुनाव जित्न सकिने भनेर गोप्य रिपोर्ट दिएको चर्चा छ ।

गत चुनावमा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले ३२ हजार ८ सय ६६ मत प्राप्त गर्दा कांग्रेसको समर्थन पाएका दीपक बोहराले २७ हजार ४ सय २२ मत पाएका थिए । स्थानीय तह निर्वाचनमा रुपन्देही– ३ मा कांग्रेसको ३४ हजार १ सय ५३ मत छ । एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३ सय ९७ तथा जसपा ६ हजार १ सय ८३ र माओवादीको २ हजार ८ सय ८१ मत छ । 

ज्ञानेन्द्रबहादुर कार्की

२०७४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी गठबन्धनको हुरीले नछोएकामध्ये ज्ञानेन्द्रबहादुर कार्की पनि हुन् । भोजपुरबाट निर्वाचन क्षेत्र सुनसरीमा सारेका कार्कीले २०७४ सालमा दुर्लभ जीत हाँसिल गरेका थिए । सरकारमा तेस्रो वरीयताका मन्त्री रहेका कार्की देउवाका विश्वास पात्र हुन् । 

विगतमा चुनाव लड्ने बेला अर्थमन्त्री रहेका कार्की अहिले सञ्चारमा छन् । केपी ओलीसँग देउवाको सम्पर्क सेतु समेत रहेका कार्की ग्रिन जोनमा परेका नेता हुन् ।

सुनसरी ४ मा स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले राम्रो पर्दशन गरेको छ । २०७४ सालको चुनावमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दा एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० पाएका थिए । 

स्थानीय तह निर्वाचनमा सुनसरी– ३ मा नेपाली कांग्रेसले २८ हजार ७ सय ५६ मत ल्याउँदा एमालेले २३ हजार ६ सय १३, जसपाले ९ हजार ८ सय ६३ र नेकपा एसले ३ हजार ७ सय तथा माओवादीले ३ हजार ६ सय ४६ मत पाएका छ । 

पम्फा भुसाल

देउवा सरकारमा चौथो वरीयताकी ऊर्जा मन्त्री पम्फा भुसाल पनि ग्रीनजोनमै छिन् ।

माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये जित्ने सुनिश्चित भएको ललितपुर– ३ नै हो । माओवादीले उपत्यकामा रोज्ने पहिलो रोजाइ नै ललितपुर–३ हुने माओवादीका नेताहरू बताउछन् । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचित भुसाल २०६४ सालको चुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिइन् ।  

विद्यार्थीकालदेखि यही क्षेत्रमा राजनीति गरेकी भुसालको व्यक्तिगत लोकप्रियताका भोट छन् । २०७० सालको संविधानसभा चुनाव नलडेको समयमा पनि स्थानीयहरू समस्या लिएर उनकोमा जाने गरेका थिए । 

माओवादीको प्रभाव रहेको ललितपुर १ मा कांग्रेसले जित्नका लागि पनि ३ मा माओवादीलाई सघाउनु पर्ने बाध्यता छ ।

२०७४ सालको चुनावमा भुसालले २४ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका मदन अमात्यले २२ हजार २ सय २९ मत प्राप्त गरेका थिए । 

पछिल्लो कार्यकालमा भुसालले ललितपुर महानगरका दुर्गम क्षेत्रमा पर्ने गाउँ गाउँसम्म बाटो विस्तार गरेकी छिन् । 

राजेन्द्रप्रसाद श्रेष्ठ    

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका जसपाका राजेन्द्र श्रेष्ठ कुन क्षेत्रबाट उठ्ने भन्ने यकिन छैन । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी समानुपातिक सांसद हुन् । 

नेकपा एमालेमा छँदा उनी २०५१ सालको चुनावमा काठमाडौं– ५ बाट निर्वाचित भएका थिए । 

काठमाडौंमा खासै जनमत नभएको जसपाले मधेशका जिल्लामा धेरै सीट दाबी गर्ने भएकाले राजेन्द्र फेरि पनि समानुपातिकमा बस्ने सम्भावना रहेको जसपा स्रोतले बतायो । 

जनार्दन शर्मा

सरकारका प्रभावशाली अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाटै चुनाव लड्दैछन् । 

माओवादी शान्ति प्रक्रियामा आएपछिका चुनावमा उनी अविजित नेता हुन् । माओवादीको उद्गम थलो रुकुममा माओवादी एक्लै बलियो छ । त्यसमाथि सत्ता गठबन्धन हुँदा शर्मालाई चुनाव जित्न कठिन छैन । 

पछाडि पारिएको रुकुममा विकासका लागि उनले धेरै काम गरेको स्थानीय बताउँछन् । २०७४ सालको चुनावमा शर्माले प्रतिस्पर्धी उम्मेदवार भन्दा दोब्बर बढी मतले जितेका थिए । शर्माले ३४ हजार ४ सय २ मत पाउँदा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत पाएका थिए । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा वामपन्थी गठबन्धनको ‘मास्टरमाइन्ड’ रहेका शर्माले यसपटक कांग्रेससँग गठबन्धन गर्नुपर्ने लबिङ गरेका थिए ।

रुकुम पश्चिममा कांग्रेसका कसैले दाबी गरेका छैनन् भने एमालेको तर्फबाट उठ्ने पात्रको पनि टुंगो लागेको छैन । 

स्थानीय तह निर्वाचनमा रुकुमपश्चिममा माओवादीले ४ वटा स्थानीय तह जितेको थियो । एमाले भने शून्य छ । स्थानीय चुनावमा माओवादीले ३७ हजार १ सय २ मत ल्याउँदा, कांग्रेसले २६ हजार ६ सय ६० र एमाले ६ हजार १ सय २४ मत पाएको छ । 

उमाकान्त चौधरी   

नेपाली कांग्रेसको कृष्ण सिटौला क्याम्पबाट खानेपानी     मन्त्री बनेका चौधरी २०७४ सालमा बारा १ बाट प्रत्यक्ष चुनाव जितेका हुन् ।

चौधरीले २४ हजार ४ सय ५० भोट पाउँदा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत पाएका थिए । जीतपुर सिमरा उपमहानगरपालिका जितेको माओवादीले बारामा १ सीट दाबी गरेको छ ।

कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले टिकट पाउने र जसपासँग तालमेल गर्दा उसले पनि एक सीट दाबी गर्ने सम्भावना छ ।

यद्यपि टिकट बाँडफाँड गर्ने कार्यदलको संयोजक कृष्ण सिटौला बनेका कारण चौधरीले टिकट पाउने सम्भावना छ । चौधरी सिटौला प्यानलका हुन् ।

स्थानीय तह चुनावमा यस क्षेत्रमा कांग्रेसले ३२ हजार ३ सय ५६, एमाले २५ हजार ८ सय ८, लोसपा ९ हजार ५ सय ५ र माओवादीले ६ हजार ३ सय ४३ मत पाएका छन् । यस्तै जसपाको ६ हजार १ सय ४३ मत छ ।  

नारायण खड्का

देउवा सरकारमा परराष्ट्र    मन्त्रीको जिम्मा पाएका नारायण खड्काले उदयपुरबाट चुनाव जित्दै आएका छन् ।

भर्खरै सम्पन्न चुनावमा उदयपुरमा कांग्रेस र माओवादीले राम्रो प्रदर्शन गरेका थिए । तर, स्थानीय भने खड्कासँग सन्तुष्ट नरहेको कांग्रेस स्रोत बताउँछ ।    

गत निर्वाचनमा खड्काले उदयपुरमा ३३ हजार १ सय ४२ मत पाउँदा एमालेकी मञ्जु चौधरीले ३२ हजार ५ सय ९५ मत पाएकी थिइन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमाले २१ हजार ६ सय ५२, कांग्रेस २० हजार ७ सय ५७ तथा माओवादी ८ हजार १ सय ७९ मत पाएका छन् । 

मृगेन्द्रकुमार सिंह यादव    

महिन्द्रराय यादव बाबुराम भट्टराईसँग निकट भएपछि उपेन्द्रले मन्त्रिपरिषद्मा सरकारका मन्त्री हेरफेर गरे ।

महिन्द्ररायलाई हटाएर उपेन्द्र यादवको कोटामा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् । उनी अघिल्लोपटक सप्तरी ४ बाट चुनाव लडेका थिए ।

कांग्रेसका तेजुलाल चौधरीले २४ हजार १ सय १३ मत ल्याउँदा सिंहले १४ हजार ८ सय ८६ मत पाएका थिए ।

कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कूलका सञ्चालक समेत रहेका चौधरीले फेरि त्यही क्षेत्रबाट चुनाव लड्ने तरखर गरेका छन् । गठबन्धन हुँदा चौधरी या यादव कसले टिकट पाउँछ, यकिन छैन । तर, सिंह रेड जोनमा छन् ।

मोहम्मद इश्तियाक राई    

रेणु यादवलाई विस्थापित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्न पुगेका राई पश्चिम तराईका जिल्लामा उपेन्द्र यादवका पिल्लर हुन् ।

बाँकेको नेपालगञ्ज क्षेत्रबाट चुनाव जित्दै आएका राई गठबन्धन भएमा सहज जीत निकाल्न सकिने विश्वासमा छन् । २०७४ सालको निर्वाचनमा राईले बाँके २ बाट २१ हजार ५ सय ७५ मत ल्याउँदा पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत पाएका थिए ।

यही क्षेत्रबाट राप्रपाका धवल शमशेर जबरा उम्मेदवार बन्दैछन् । एमालेसँगको तालमेलमा धवल उम्मेदवार बने भने राई रेडजोनमा पर्नेछन् ।

नेपालगञ्जका निवर्तमान मेयर धवल शमशेर स्थानीयमाझ लोकप्रिय छन् । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४ र माओवादीले ६ हजार ८ सय मत पाएका थिए ।

कुल योगफलमा गठबन्धन अगाडि देखिए पनि धवल शमशेर उम्मेदवार बन्दा उनको व्यक्तिगत भोटले हिसाबकिताब तलमाथि पार्ने स्थिति छ ।

दिलेन्द्रप्रसाद बडू     

देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका बडूको निर्वाचन क्षेत्रको टुंगो छैन । स्थानीय तह निर्वाचनमा राम्रो प्रदर्शन गरेको दार्चुला माओवादीले दाबी गरेको छ ।

सुदूरपश्चिममा कैलालीका २, कञ्चनपुरका १ बाहेक माओवादीको रोजाइ दार्चुला रहेको माओवादीका एक नेता बताउँछन् । 

२०७४ सालको चुनावमा वाम गठबन्धनमा एमालेका गणेशसिंह ठगुन्ना यस क्षेत्रबाट विजयी बनेका थिए । 

ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाउँदा कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा दार्चुलामा एमालेले २९ हजार ३ सय ९७, कांग्रेसले २१ हजार ५ सय ५४ र माओवादीले ७ हजार ८ सय ८१ मत पाएका छन् ।

दार्चुलाका कुल ९ स्थानीय तहमध्ये एमालेले ५ र माओवादीले ४ वटामा जीत हात पारेका थिए ।

देवेन्द्र पौडेल

देउवा सरकारमा १२ औं वरीयतामा रहेका शिक्षा, विज्ञान तथा प्रविधि    मन्त्री देवेन्द्र पौडेल २०७४ सालमा पहिलोपटक संसद्मा पुगेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बनेको सरकारमा उनी मन्त्री बन्ने मौका पाए । वामपन्थी गठबन्धन बन्दा बाग्लुङ २ बाट चुनाव जितेका पौडेललाई यसपटक कांग्रेसको भर छ । माओवादीको उपस्थिति कमजोर रहेको यो क्षेत्रमा कांग्रेस इमान्दार बनिदिएमा मात्र उनले चुनाव जित्नेछन् । 

२०७४ सालको निर्वाचनमा पौडेलले २८ हजार ८ सय २७ मत पाउँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा बाग्लुङ २ मा एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७५१, माओवादीले ९ हजार ७५१ र राजमोले ६ हजार ६७८ मत पाएका छन् ।

उमा रेग्मी    

देउवा सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेकी रेग्मीको निर्वाचन क्षेत्रको टुंगो छैन ।

रेग्मीले प्रत्यक्ष चुनाव लडेमा चितवनको कुनै क्षेत्रमा जाने सम्भावना छ ।

शशि श्रेष्ठ    

जनमोर्चाको पृष्ठभूमिबाट माओवादीमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण    मन्त्री शशी श्रेष्ठको पनि निर्वाचन क्षेत्र यकिन छैन ।

श्रेष्ठका पति लीलामणि पोखरेल विगतमा सिन्धुलीबाट चुनाव लडेका थिए । पोखरेल एकपटक काठमाडौं– २ मा चुनाव लडेर पराजित भएका थिए । 

समानुपातिकबाट सांसद हुँदै मन्त्री बनेकी श्रेष्ठ फेरि पनि समानुपातिकमै बस्ने सम्भावना छ ।

महेश्वरजंग गहतराज 

देउवा सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका महेश्वरजंग गहतराज २०७४ सालको चुनावमा बाँके १ बाट निर्वाचित भएका थिए ।

गहतराजले ३१ हजार १ सय ७३ मत प्राप्त गर्दा कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । 

बाँके १ मा स्थानीय तह निर्वाचनमा कांग्रेसले २८ हजार १ सय १९, एमाले २५ हजार ३ सय १० र माओवादीले १७ हजार १ सय १० मत प्राप्त गरेका छन् ।

कांग्रेसले साथ दिएको खण्डमा उनले जीत निकाल्न सम्भव छ । एकल प्रयासले भने जित्नसक्ने देखिन्न । 

गोविन्दप्रसाद शर्मा

देउवा सरकारको १६ औं वरीयतामा रहेका कानून, न्याय तथा संसदीय मामिला     मन्त्री गोविन्द बन्दी कागताली परेर सरकारमा मन्त्री बन्न आएका हुन् ।

गैरसांसद मन्त्री बन्दीको कार्यकाल चुनावअगावै सकिँदैछ । मन्त्रीबाट हटे पनि उनी चुनावमा नभई सर्वोच्च अदालतमा बहसमै फर्किने उनलाई चिनेकाहरू बताउँछन् ।

दैलेखका बन्दी राजनीतिक रूपमा माधव नेपालनिकट मानिन्छन् ।

जीवनराम श्रेष्ठ    

गत चुनावमा काठमाडौं ८ बाट निर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने कोशिशमा छन् । 

२०७४ सालमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए ।

चुनावी तालमेल हुँदा नेकपा एसले काठमाडौंमा २ र ८ नम्बर क्षेत्रलाई बटमलाइन बनाएको छ ।

स्थानीय चह चुनावमा यो क्षेत्रमा कांग्रेसले राम्रो मत ल्याएको छ । मन्त्री श्रेष्ठको यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले प्रतिष्पर्धा गर्ने बताएका छन् ।

अघिल्लोपटक श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३ र नेकपा एसले ५ हजार १ सय ४२ मत प्राप्त गरेका थिए ।

मेटमणि चौधरी    

रामकुमारी झाँक्रीलाई विस्थापित गरेर शहरी विकास     मन्त्री बनेका चौधरी दाङ– १ बाट चुनाव लड्ने तरखरमा छन् । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको चुनावलाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।

नेकपा एमाले विभाजनका बेला सक्रिय चौधरी नेकपा एसका नेता हुन् । एमालेले यो क्षेत्रबाट गंगा चौधरी सत्वौवालाई उम्मेदवार बनाउने सम्भावना छ । 

२०७४ सालको चुनावमा वाम गठबन्धनका एमाले उम्मेदवार चौधरीले कांग्रेसकी सुशीला चौधरीलाई  पराजित गरेका थिए ।

मेटमणिले ३७ हजार ९ सय ८ मत पाउँदा सुशीलाले २४ हजार ७४ मत प्राप्त गरेकी थिइन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले २९ हजार ७ सय ७५ मत पाउँदा एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २ सय ७६ र नेकपा एसले २ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए ।

थारुबहुल क्षेत्र भएकाले दाङ १ मेटमणिका लागि अनुकूल छ, तर एसको संगठनात्मक भोट निकै कम देखिएको छ । चुनाव जित्नका लागि उनलाई कांग्रेस र माओवादीको दरिलो साथ चाहिने देखिन्छ ।

भवानीप्रसाद खापुङ    

विरोध खतिवडालाई विस्थापित गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका भवानीप्रसाद खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

वाम गठबन्धनका एमाले उम्मेदवार खापुङले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । 

२०७४ सालको चुनावमा खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा कांग्रेसकी सीताले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन् । चुनाव हारेपछि सीता जिल्लामै बसेर राजनीति गरिरहेकी छिन् । 

अहिले पनि कांग्रेसका तर्फबाट उनी प्रमुख दाबेदार हुन । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमालेले २२ हजार ३ सय १२, नेपाली कांग्रेसले २१ हजार ९ सय ११ र माओवादीले ६ सय ८६ मत प्राप्त गरेका छन् ।

मन्त्री खापुङको पार्टी एसले मात्र ५ सय ४६ मत प्राप्त गरेको थियो ।

एसको मत निकै कम रहेकाले उनले टिकट पाउने सम्भावना नै कम देखिन्छ । टिकट पाए पनि उनी ग्रीनजोनमा देखिन्छन् ।

शेरबहादुर कुँवर    

देउवा सरकारका तेस्रो गैर सांसद मन्त्री रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवर अछामबाट प्रतिस्पर्धा गर्दैछन् ।

एमाले नेता भीम रावलको गृहजिल्लाबाट चुनाव लडाउन माधव नेपालले कुँवरलाई मन्त्री बनाएका हुन् । तर, रावल र उनको निर्वाचन क्षेत्र भने फरक हो ।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेका कुँवर राष्ट्रिय सभाको सांसद बनेका थिए ।

कुँवरले टिकट पाएमा चुनाव जित्नका लागि कांग्रेसको इमान्दार प्रयास र आशीर्वाद बटुल्नुपर्नेछ ।

स्थानीय तह निर्वाचनमा अछामका दुवै क्षेत्रमा नेपाली कांग्रेसले एमालेले भन्दा धेरै मत पाएको छ । 

भीम रावलको क्षेत्र अछाम १ मा कांग्रेसले १६ हजार ७ सय २८ मत पाउँदा एमालेले १६ हजार ५ सय ६७ मत प्राप्त गरेको छ । माओवादीले ६ हजार ७ सय ९० मत पाउँदा एसले २ हजार ७ सय ५२ मत प्राप्त गरेको  छ ।

क्षेत्र नम्बर २ मा कांग्रेसले १९ हजार ३ सय ३९ मत पाउँदा एमालेले १७ हजार ९ सय ८७ मत प्राप्त गरेको छ । माओवादीले ६ हजार ४ सय र एसले २ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।

अछाममा कांग्रेसले ७ पालिका जित्दा एमालेले २ र माओवादीले एकमा चित्त बुझाएका थिए ।

प्रदीप यादव    

देउवा सरकारमा वन तथा वातावरण मन्त्री रहेका यादव पर्साको वीरगञ्ज क्षेत्रबाट २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्लादहन भएको थियो । 

यो क्षेत्रका प्रभावशाली नेता यादवसँग एमालेले भर्खरै वीरगञ्जको मेयरमा पराजित विजय सरावगीलाई उठाउने सम्भावना छ । विगतमा जसपाबाट मेयर जितेका सरावगी चुनावको मुखमा एमाले प्रवेश गरेका थिए ।

जसपाले चुनाव जितेको वीरगञ्जमा सरावगीको लज्जास्पद पराजय भएको थियो ।

२०७४ सालको चुनावमा यादवले २१ हजार १ सय ३२ मत ल्याउँदा कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ र एमालेका विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए । 

उमेश श्रेष्ठ    

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री बनेर बसेका उमेश श्रेष्ठ धनाढ्य मन्त्रीको रूपमा परिचित छन् ।

२०७४ सालको प्रतिनिधि सभामा समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठले यसपटक चितवनबाट चुनाव लड्न भूमिका बनाउँदै छन् ।

स्थानीय तह चुनावमा गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई जिताउन फिल्डमा खटिएको समयमा श्रेष्ठले चितवनबाट चुनाव लड्ने बताएका थिए ।

चितवनबाट चुनाव लडेमा उनी २ नम्बर क्षेत्रबाट लड्ने सम्भावना छ । चितवन ३ प्रचण्डलाई छाड्नुपर्ने भएपछि बाँकी २ क्षेत्रमा नेताको व्यवस्थापन गर्न कांग्रेसलाई धौधौ परेको छ । श्रेष्ठ भने सिधै देउवाको भिटो लगाएर टिकट हत्याउने दाउमा छन् ।

चितवन– २ बाट एमालेका वर्तमान सांसद कृष्णभक्त पोखरेल या देवी ज्ञवालीमध्ये एकले टिकट पाउने सम्भावना छ ।         

बोधमायाकुमारी यादव

देउवा मन्त्रिपरिषद्मा २३ औं वरीयतामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बोधमायाकुमारी यादव धनुषाबाट समानुपातिक सांसद हुन् ।

नेताहरूको व्यवस्थापन कठिन भएकाले उनले धनुषाबाट प्रत्यक्ष टिकट पाउने सम्भावना कमजोर रहेको नेताहरू बताउँछन् ।

उनको प्रयास पुनः समानुपातिकमा दोहोरिनु हुने धनुषाका माओवादी नेता/कार्यकर्ता बताउँछन् ।

हिराचन्द्र केसी

देउवा सरकारको मन्त्रिपरिषद्का २४ औं नम्बरमा रहेका हिराचन्द्र केसी गत चुनावमा दाङ– ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । माधव नेपालका विश्वासपात्र केसी अहिले नेकपा एसमा छन् ।

दाङका तीन क्षेत्रमा सीट बाँडफाँड गर्दा कांग्रेस, माओवादी र एसले एक–एक क्षेत्र पाउने सम्भावना छ । मेटमणिले टिकट पाए केसी प्रदेश सभामा जानु पर्ने नेताहरू बताउँछन् ।

केसीले प्रतिनिधि सभामा टिकट पाए मेटमणि प्रदेश सभामा खुम्चिनु पर्नेछ । यो क्षेत्रबाट एमालेले तुलसीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डे या राष्ट्रिय सभाकी निवर्तमान सदस्य कोमल वलीलाई उठाउने सम्भावना छ ।

विगतको चुनावका केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दा कांग्रेसका दीपक गिरीले ३३ हजार ७ सय ३० मत पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x