२९ जेठ २०८३, शुक्रबार
गृहमन्त्री खाँणले सारे क्रियाशील सदस्यता

नयाँ निर्वाचन क्षेत्रको खोजीमा गृहमन्त्री !

कात्तिक २९, २०७८
नयाँ निर्वाचन क्षेत्रको खोजीमा गृहमन्त्री !

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा आफूपछिको दोस्रो वरीयतामा राखेर गृहमन्त्री बनाएपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको ‘राजनीतिक कद’ थप उचो भयो ।

खाँण हरेक अप्ठ्यारोमा देउवालाई साथ दिँदै उनकै सेरोफेरोमा रहने विश्वासपात्र हुन् । पार्टीमा दह्रो पकड राख्न र सरकारको सिँढीमा उक्लिन उनी सिपालु मानिन्छन् ।

सरकारको दोस्रो वरीयातामा पुगेका गृहमन्त्री खाँण गृहजिल्लामा भने आफू सुरक्षित हुने निर्वाचन क्षेत्रको खोजीमा छन् । अहिले खाँणको काठमाडौं–रूपन्देही ओहोरदोहोर तीव्र छ ।

आफ्नै क्षेत्र रूपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा असुरक्षित महसूस गरेर २०७४ सालको निर्वाचनमा खाँण समानुपातिकमा खुम्चिएका थिए ।

अहिले ३ नम्बर क्षेत्रभन्दा १ नम्बर बलियो देखेर गृहमन्त्री खाँण प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन नै लड्ने गरी तयारीमा लागेका छन् । १ नम्बर क्षेत्र पनि कांग्रेसका लागि त्यति बलियो क्षेत्र मानिँदैन ।

२०७० सालको निर्वाचनमा कांग्रेस रूपन्देहीका सभापति तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले एमालेका नेता छविलाल विश्वकर्मालाई २०४ मतान्तरले पराजित गरेका थिए भने २०७४ सालको निर्वाचनमा विश्वकर्माले रज्जाकलाई ७ हजार ३८० मत अन्तरले पराजित गरेका थिए । त्यो बेला माओवादी र एमालेको मत हुँदा विश्वकर्मा विजयी भएका निष्कर्ष कांग्रेसले निकालेको थियो ।

आफ्नो निर्वाचन क्षेत्र ३ बाट किनारा लागेर आफूलाई क्षेत्र नम्बर १ तिर चुनाव लड्ने गरी केन्द्रित हुन थालेका छन् खाँण । सुरक्षित राजनीतिक मैदान खोज्दै खाँणले आफ्नो क्रियाशील सदस्यता पनि १ नम्बर क्षेत्रमा सारेका छन् ।

आगामी निर्वाचनमा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर कार्यकर्ताको मनोभाव र पार्टीको बलियो ‘आधार इलाका’ रहेको क्षेत्रको खोजीमा खाँण छन् । पछिल्लो चुनावमा ३ नम्बर क्षेत्रमा कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक बोहोरा थिए । बोहोरालाई एमाले उपमहासचिव घनश्याम भुसालले पराजित गरेका हुन् ।

‘उहाँले आफ्नो क्रियाशील सदस्यता बुटवल–६ बाट तिलोत्तमा–८ मा सार्नुभएको छ । उहाँ अहिले नयाँ निर्वाचन क्षेत्रको खोजीमा हुनुहुन्छ । क्षेत्र नम्बर ३ छाडेर १ तिर लम्किनुभएको छ,’ कांग्रेसको संस्थापनइतर एक नेताले भने ।

गृहमन्त्री खाँणले भाइटीकाको अघिल्लो दिन १ नम्बर क्षेत्रको गौशाला र तिलोत्तमाको गौशालामा आएर पूजाआजा समेत गरेका छन् । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा खाँणले ३ नम्बर क्षेत्रमा एमालेका लीला गिरीलाई १ हजार २०० भन्दा बढी मतान्तरले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा एमालेका भुसालसँग खाँणको मतान्तर ८५ मा झरेको थियो । २०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावले असुरक्षित देखाएपछि खाँण समानुपातिकमा बसेका थिए ।

पार्टीभित्र तीव्र असन्तुष्टिबीच खाँणले आफ्ना सहोदर भाइ रामकृष्णलाई तिलोत्तमाको मेयरमा उम्मेदवार बनाए तर रामकृष्ण पराजित भए । खाँणको आफ्नै वडा तिलोत्तमा–८ पनि एमालेको पोल्टामा पुग्यो । खाँणको नातावादप्रति कांग्रेस कार्यकर्ताहरूले निरन्तर प्रश्न उठाइरहे ।

३ नम्बर क्षेत्र नम्बरमा पर्ने सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधन गाउँपालिकामा पनि एमालेले जीत हाँसिल गरेपछि खाँण प्रत्यक्ष चुनावबाट पछाडि हटेका कांग्रेस नेताहरू नै बताउँछन् । यतिबेला सत्ता र शक्तिमा रहेका खाँण पार्टीको निर्वाचनमा महामन्त्री र संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने सोचमा रहेका उनी निकट नेताहरू बताउँछन् । 

१ नम्बर क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका–७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिका–१, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् । ३ नम्बर क्षेत्रमा बुटवल–१४, १५, १६, १७, १८, १९ र तिलोत्तमा–१३, १४ र मायादेवी–७, ८ र ओमसतिया–२, सिद्धार्थनगरका सम्पूर्ण वडाहरू, सियारी–१, २, ३, ६, ७ र शुद्धोधन गाउँपालिकाका सम्पूर्ण वडाहरू पर्छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । 

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले गृहमन्त्री खाँणले आफूले चाहेको निर्वाचन क्षेत्रबाट लड्न पाउने बताए । ‘उहाँ दाइ टिकट बाँड्ने मान्छे हो,’ पाण्डेले लोकान्तरसँग भने, ‘उहाँ रूपन्देहीको जुनसुकै क्षेत्रबाट लड्न सक्नुहुन्छ । १ नम्बर क्षेत्रमा जान पनि पाउनुभयो । २, ३, ४, ५ जहाँबाट पनि लड्न सक्नुहुन्छ नि !’

आउँदो निर्वाचनमा एमालेले पनि ३ नम्बर क्षेत्रबाट घनश्याम भुसाललाई नै अगाडि सार्ने देखिन्छ । 

२०७४ सालको निर्वाचनमा कांग्रेस ४ र ५ नम्बर क्षेत्रबाट विजयी भएको थियो । ४ नम्बरबाट प्रमोद यादव र ५ नम्बरबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह विजयी भएका थिए ।

कांग्रेसका पूर्व महासमिति सदस्य कृष्ण पौडेलले खाँण सधैं सुरक्षित र मेहनत गर्न नपर्ने ठाउँको खोजीमा लाग्ने नेता भएको बताए । ‘कांग्रेसका लागि १ नम्बर क्षेत्र बलियो हो तर सजिलो चाहिँ कतै छैन । मेरो टिकट २०६४ सालमै नखोसेको भए त्यहाँ पनि कांग्रेसले चुनाव जित्थ्यो,’ पौडेलले लोकान्तरसँग भने । 

पौडेलले थपे, ‘हामी अहिले कांग्रेसको राजनीतिमा निष्क्रिय छौं । प्रभावशाली नेता भएको भए त आफ्नो निर्वाचन क्षेत्र बलियो बनाउँथें । प्रत्यक्ष चुनाव लड्थें ।  यताउता डुल्ने अस्थिर नेता हुन् खाँण, उनले १ नम्बर क्षेत्र सुरक्षित देखेको हुन सक्लान् ।’

आगामी चुनाव प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गराउने देखिन्छ । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले गृहमन्त्री खाँणले क्रियाशील सदस्यता स्थानान्तरण गर्दैमा निर्वाचन क्षेत्र परिवर्तन गर्न खोजेको भनेर बुझ्न नमिल्ने तर्क गरे । उनी पछिल्लो समय निरन्तर गृहजिल्लामा पार्टीका विभिन्न कार्यक्रम सहभागी हुँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्