
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
‘कृ’ फ्रेम्ड निर्देशक सुरेन्द्र पौडेल निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रको कथावस्तुलाई चित्रण गरिएको छ । अभिनेत्री अदिती बुढाथोकी, अभिनेता धीरज मगर र अर्का अभिनेता धीरज नाड्करबीचको प्रेमलाई ट्रेलरमा देखाइएको छ । २ अभिनेताले चलचित्रकी मुख्य अभिनेत्री अदिती (बाबरी)लाई पाउन गर्ने संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलर हेर्दा चलचित्र ‘कबड्डी’ फ्लेबरमा निर्माण भएको अनुमान गर्न सकिन्छ । चलचित्रका संवादहरू सुन्दा ‘कबड्डी’को झल्को आउँछ । चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ लगायतको पनि मुख्य भूमिका छ । सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले चलचित्र लेखेका हुन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई निर्देशक पौडेल स्वयंले सम्पादन गरेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता छन् ।
चलचित्र दशैंको अवसर पारेर असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।