
संघीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि ५ जिल्ला हेर्ने दायित्व छ ।
पर्वतमा ५ जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । ५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ ।
कार्यालयमा कर्मचारी कम र कार्यक्षेत्र ठूलो रहेको सूचना अधिकारी भीमप्रसाद अर्यालले बताए । कार्यालयले सबै जिल्लामा काम गरे पनि चाहे अनुसारको जलाधारीय स्रोत संरक्षण, व्यवस्थापन र विकासका कार्य गर्न सकिरहेको छैन । समयमा टाढाका कार्यक्षेत्रमा पुग्न नसकेका कारण उपभोक्ता व्यवस्थापनमा ढिलाइ भएको अर्यालले बताए ।
यस कार्यालयको जिम्मेवारीमा पर्वतसहित मुस्ताङ, म्याग्दी, बागलुङ, र स्याङ्जा पर्छन् । पहिलो वर्ष जनशक्ति र बजेट पर्याप्त थियो । समय घर्किंदै गयो । कर्मचारी र बजेट पनि कटौती हुँदै जान थाल्यो । कार्यालयका अनुसार १ उपसचिवसहित १७ कर्मचारीको दरबन्दी कायम गरिए पनि हाल ११ मात्रै कार्यरत छन् ।
वरिष्ठ जलाधार अधिकृत दिवाकर पौडेलका अनुसार हाल कार्यालयमा १–१ पशु तथा बाली अधिकृत, वन अधिकृत (सातौं तह), रेन्जर, सबइन्जिनीयर र हलुका सवारी चालकको दरबन्दी रिक्त छ । पर्वतस्थित जलाधार कार्यालयले ती जिल्लाभित्र कुवापोखरी, विद्युतीय आयोजना, स्थानीयसँगको समन्वय, आकस्मिक पहिरो, नदी–किनार, सडकसँग भू–संरक्षण लगायतमा काम गर्नुपर्ने जिम्मेवारी छ ।
विनियोजित बजेटले प्राकृतिक विपद्मा परेका बस्तीमा २–४ थान जाली वितरण गर्न समेत बजेट नपुग्ने कर्मचारी बताउँछन् ।
कार्यालयका अनुसार पहिलो वर्ष २२ करोड बजेट विनियोजन गरेको प्रदेशले दोस्रो वर्ष १२ करोड रुपैयाँ मात्रै बजेट छुट्टयाएको थियो । अघिल्लो वर्ष ७ करोड बजेट विनियोजन भएको थियो । यस वर्ष ७ करोड मात्रै विनियोजन गरिएको छ ।
बजेटसँगै खुम्चिएको जनशक्तिका कारण पनि कार्यालयलाई काम गर्न समस्या परेको पौडेलले बताए । पर्वतको भू–तथा जलाधार कार्यालयको जस्तो समस्या बागलुङमा रहेका कार्यालयमा पनि छ । बागलुङ र पर्वत हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा १ प्रमुख, २ इन्जिनीयर र अन्य केही प्राविधिक मात्रै छन् ।
वर्षमा १०० बढी योजना हेर्नुपर्ने र भौगोलिक रूपमा पनि टाढा हुँदा प्राविधिक हैरानीमा पर्छन् । बागलुङमै रहेको सडक डिभिजन, सिँचाइ डिभिजन, भेटेरेनरी अस्पताल, आयुर्वेदिक औषधालय लगायत कार्यालयले पनि २–४ जिल्ला हेर्नुपर्छ । काम प्रभावकारी नभएको कर्मचारीबाटै गुनासो आउने गरेको छ ।