
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आइतवार सभाको बैठक स्थगित गर्दा बिहीवार ०२ : ५९ बजे अर्को बैठक बस्नेगरी समय तोके ।
आइतवारको पहिलो बैठक पनि ०१ : ०१ बजेका लागि तोकिएको थियो । आइतवारको पहिलो बैठक स्थगित गर्दा पनि अध्यक्ष तिमिल्सिनाले ९ मिनेटपछि बस्ने भनेर स्थगित गरे ।
सामान्यतया संसदका बैठक शून्यमा अन्त्य हुने समय (जस्तै ०३ : ०० बजे, ३ : ३० बजे) राख्ने गरिएको थियो ।
बैठक स्थगित गर्दा पनि १० मिनेट, १५ मिनेट या ३० मिनेट स्थगित गरिने गरेको थियो । आइतवार ९ मिनेटका लागि स्थगित भयो ।
किन यस्तो अड समयमा बैठक राखियो ? संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला भन्छन्, बैठकको समय तोक्ने अध्यक्षज्यूको तजबिजी अधिकार हो ।
‘राष्ट्रिय सभाको बैठक समयमै शुरू हुने गरेका छन्, बिहीवार पनि ३ बज्नुभन्दा एक मिनेटअगाडि नै बैठक राखिएको छ,’ राष्ट्रिय सभाको कार्यसूची बनाउने शाखामा रहेका धमलाले लोकान्तरसँग भने, ‘शून्य समयमा नराखौं भनेर एक मिनेट तलमाथि गरिएको होला, बैठकको समय निर्धारण गर्ने अध्यक्षको तजबिजी अधिकार हो ।’
बैठक अड समयमा तोकिएको बारे सांसदहरूले पनि जिज्ञासा राखेका थिए ।
आइतवारको बैठकले राष्ट्रपति विद्या भण्डारीले पुनर्विचारका लागि प्रतिनिधि सभामा पठाएको नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।