
पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ । सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ ।
उक्त सडकखण्डमा ससाना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ । भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ । उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ । सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ । यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ ।