१० साउन २०८३, आइतबार

बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा ज्योति विकास बैंकद्वाराकाे सहयोग

बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा ज्योति विकास बैंकद्वाराकाे सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रबर्द्धन कोष’ मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने परियोजनामा सहकार्य गर्ने भएको छ । बैंक र युथ स्किल ल्याबबीच उक्त परियोजनामा सहकार्य सम्झौता पत्रमा हस्ताक्षरसमेत सम्पन्न भएको छ । 

आइतवार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र युथ स्किल ल्याबका तर्फबाट संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौताबमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रबर्द्धनका लागि सेन्टर स्थापना गर्न सहयोग गर्ने छ । 

उक्त सेन्टरमा विद्यार्थीहरूले निःशुल्क रूपमा उद्यमशीलता तालिम, विकास र सञ्चालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासँग सहकार्यको अवसर पनि प्राप्त गर्ने छन् । सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नेछ । 

बैंकले संस्थागत रूपमा नै उद्यमशीलको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरूको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको हो । 

उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्‍याउने र दक्ष युवाहरूलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले सेन्टर स्थापना गर्ने पहल अघि सारेको हो । देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रबर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्