१० साउन २०८३, आइतबार
अदालत

के आधारमा भयो पल शाहमाथि साढे २ वर्ष कैद सजायको फैसला ?

यसकारण बलात्कार मुद्दामा सफाइ
भदौ २१, २०७९
के आधारमा भयो पल शाहमाथि साढे २ वर्ष कैद सजायको फैसला ?

नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको अपराधमा २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको हो।

काठमाडौंको मध्य बानेश्वरस्थित होटलमा भएको संवादको अडियो आफ्नो स्वीकारेको तथा सुटिङबाट थाकेर आएपछि रक्सी सेवन गरी नाबालिगको कोठामा गएको बयान दिएकाले  बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त कसूरमा सजाय गरिएको फैसलामा उल्लेख छ।

मिडियामा आएको प्रतिवादी शाहको अभिव्यक्तिलाई पनि फैसलामा दोषी ठहर गर्ने आधार बनाइएको छ ।  नाबालिग राखेर यौनजन्य कुरा गर्नु पनि बाल यौन दुरुपयोग हुने भएकाले कसुर ठहर गरिएको फैसलामा उल्लेख छ।   

यसकारण बलात्कार मुद्दामा सफाइ

प्रमाण नपुगेको भन्दै शाहलाई बलात्कार मुद्दामा भने सफाइ दिइएको छ। अर्काको उक्साहटमा जाहेरी दिएको तर जबरजस्ती करणी नभएको भनी जाहेरवालाले बयान दिएको आधारमा सफाइ दिइएको हो। त्यसबाहेक १ वर्षपछि गराइएको स्वास्थ्य परीक्षण प्रतिवेदन(मेडिकल रिपोर्ट)मा ‘हाइमेन ओल्ड टियर’ मात्र लेखिएको उल्लेख छ। मेडिकल रिपोर्टमा ‘हाइमन’मा दाग मात्र देखिने र ‘सेभेन ओ क्लक’ तथा ‘फाइभ ओ क्लक’मा पुरानो दाग देखिएको उल्लेख गरिएको छ। दाग किन देखियो भनेर चिकित्सकलाई अदालतमा बोलाउँदा साइकल चलाउँदा, गेम खेल्दा, फुटबल खेल्दा, रुख चढ्दा र यौन सम्पर्क गर्दा पनि ‘हाइमन’ च्यातिन सक्ने भनेर बयान दिएको फैसलामा उल्लेख छ।

स्वयं पीडितले पनि आफूले साइकल चलाउने, रुख चढ्ने र फुटबल पनि खेल्ने जस्ता कार्य गरेको भनेर दिएको बयानको आधारमा पनि सफाइ दिइएको फैसलामा उल्लेख छ।

 पीडितले नै बलात्कार नभएको भनी बयान दिएको तथा हाइमनमा दाग अन्य कारणले हुनसक्ने देखिएपछि बलात्कार नै भएको हो भनेर पुष्टि हुनसक्ने आधार तथा प्रमाण नदेखिएको फैसलामा उल्लेख छ ।

त्यसैगरी मौका वारदातमा कागज गर्नेहरू तथा वस्तुस्थिति मुचुल्कामा समेत कागज गर्नेहरूले मिडियामा आएको समाचारको आधारमा कागज गरिदिएको, बलात्कार भएको आफूले नहेरेको भनी दिएको बयानको आधारमा पनि शाहलाई बलात्कार मुद्दामा सफाइ दिइएको हो।

मिसिल संलग्न प्रमाणको आधारमा फैसला गर्नुपर्ने हुँदा बलात्कार मुद्दाबाट सफाइ दिईएको फैसलामा उल्लेख छ।

 अभिभावक तथा मिडियालाई सचेत गराइयो

न्यायाधीश आचार्यले पीडित नाबालिगको अभिभावकलाई  गराएका छन्। अभिभावकले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको र नाबालिकालाई एक्लै छाडेकाले अब आइन्दा त्यस्तो नगर्न सचेत गराइएको छ। त्यसैगरी यस्तो संवेदनशील विषयमा मिडिया ट्रायल गर्ने, गोपनीयता कायम नराख्ने, आफ्नै किसिमले फैसला गर्दै  समाजमा भ्रम छर्ने, अफवाह फैलाउने काम भएको भन्दै अदालतले मिडियालाई सचेत गराएको छ। जनताको सूचनाको हक भएपनि संवेदनशील विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने फैसलामा उल्लेख छ।

नवलपुर जिल्ला अदालतको फैसला आएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन नै छ । बलात्कार मुद्दामा तनहु र नवलपरासीमा शाहविरुद्ध जाहेरी परेको थियो । जाहेरीपछि उनी पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्