
काठमाडौं, १८ साउन — विवाहित जोडी निःसन्तान भए भने त्यसभन्दा दुःखदायी कुरा अरू के हुन सक्ला ? वैज्ञानिकहरूले निःसन्तान हुनुका पछाडिको एउटा कारण हालै पत्ता लगाएका छन् ।

निःसन्तान बनाउने एउटा भाइरसलाई वैज्ञानिकहरूले पत्ता लगाएका हुन् र यो भाइरस किसमार्फत सर्छ ।
इटालीका अनुसन्धानकर्ताहरूले सन्तान पाउन नसकेका महिलाको गर्भाशयको अध्ययन गरेका थिए । उनीहरूमध्ये ४३ प्रतिशतलाई एचएचभी–६ए नामक भाइरसको संक्रमण भएको पाइयो ।
सामान्य प्रजननशक्ति भएका महिलामा यो भाइरस भेटिएन ।
एचएचभी–६ए बाट पीडित महिलाको साइटोकाइन स्तर असाधारण भेटियो ।
साइटोकाइनहरू त्यस्ता प्रोटीन हुन् जसले कोषिकाहरूका बीचमा अन्तर्क्रिया गराउँछन् । उनीहरूले डिम्ब तथा गर्भ विकासमा योगदान गर्छन् ।
यो भाइरस रगत वा थुकमा पत्ता लाग्दैन तर थुक ग्रन्थिमा यसको विकास हुन्छ । त्यसैले किस, अझ त्यसमाथि टङ किस, बाट यो भाइरस फैलिन्छ ।
एजेन्सी