
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा एक नाबालकको शुक्रवार बिहान गाडीले किचेर मृत्यु भएको छ । रोकिराखेको निसान गाडीमुनी खेल्न पसेका डेढ वर्षका सलिन श्रेष्ठको उक्त गाडीले किचेर मृत्यु भएको हो ।
लोकन्थलीस्थित त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ५ घर भई लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाका सलिन बा ५ च ७८१७ नम्बरको निसान गाडी मुनि खेल्न पसेका थिए ।
खानेपानी ढुवानी गर्ने काममा प्रयोग भइरहेको उक्त गाडी केही क्षण रोकेको बेलामा बालक गाडीमुनी पसेको र चालकले उक्त गाडी अगाडि बढाउने क्रममा बालकलाई किचेपछि गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । त्यसपछि तत्कालै उपचारका लागि लोकन्थलीकै समिट अस्पताल लगिएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि प्रहरीले चालक र सवारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।