अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।
विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बूक अफ रेकर्ड’को कार्यालयबाट नेपाल आएलगत्तै रेकर्ड सार्वजनिक भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतवार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे ।
‘मेमोरी किङ’को नामले परिचित शर्माले १ मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको विश्व कीर्तिमान कायम गरेका हुन् । उनले भने, ‘ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो ।’ उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए ।
भेटमा पूर्व प्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारे प्रश्न गरेको उल्लेख गर्दै उनले भने, ‘मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो ।’
उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसूस भएको र आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए ।