
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ टुंगोमा पुर्याउने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेशको गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी चुनावमा प्रतिगमन पक्षधरको पराजित हुने दाबी गरे । सत्तारूढ गठबन्धन प्राकृतिक भएको र एमाले नेतृत्वको गठबन्धन सामन्तीवादीहरूको भएको उनले बताए ।
एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकता गर्दा संविधानमा हस्ताक्षर गरेपछि उनीहरूको सोच बदलिएको ठानेको तर, नकाव लगाएको जस्तो गरेर संविधान र गणतन्त्र स्वीकारिएको रहेछ भन्ने पछि थाहा पाएको उनले बताए । ‘आफू शक्तिमा आएपछि संविधान र गणतन्त्र उल्ट्याउने कसर सुरु भयो । हामीले समयमै त्यसलाई चिनेर गणतन्त्र र संविधान जोगाउन सफल भयौँ’, उनले भने ।
आगामी चुनावमा २ विचार, प्रवृत्ति र संस्कृतिका बारेमा आमने-सामने र मुठभेठ हुन लागेको उनले बताए । ‘हामीले नेतृत्व गरेको गठबन्धन संविधान, समानुपातिक प्रतिनिधित्व र हिजोको उपलब्धीको रक्षाको लागि खडा छ र अर्को गठबन्धन यी सबैको विरोधमा खडा छ । मंसिर ४ को निर्वाचन पनि अग्रगमन र प्रतिगमन बीचको लडाइँको रुपमा आएको छ’, उनले भने, ‘सानो मेहनत र कसरतबाट यो गठबन्धन र यो सरकार जन्मिएको होइन । यसलाई चुनावबाट विजयी गराएर स्थापित गराउन आवश्यक छ ।’
१२ बुँदे समझदारीका पक्षधरहरू अहिले सत्तारूढ गठबन्धनमा रहेको र एमालेको नेतृत्वमा त्यसका विरोधीहरू गोलबद्ध भएको उनले बताए ।
‘गठबन्धनमा भएका नेताहरु १२ बुँदे समझदारी गर्दाका नेताहरू नै हुनुहुन्छ । १२ बुँदेदेखि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने शक्ति एकातिर र सामान्तवादी शक्तिहरू अर्को गठबन्धनमा गोलबद्ध भएका छन्’, प्रचण्डले भने, ‘निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै गठबन्धन बनाएका होइनौँ ।’