२४ जेठ २०८३, आइतबार

अमेरिकाको रक्षा मन्त्रालय भन्छ– रुस भन्दा पनि चीन नै हो सबभन्दा ठूलो जोखिम

कात्तिक ११, २०७९
अमेरिकाको रक्षा मन्त्रालय भन्छ– रुस भन्दा पनि चीन नै हो सबभन्दा ठूलो जोखिम

रुसले युक्रेनमा युद्ध चलाइरहेको भए पनि अमेरिकाका लागि चीन सबभन्दा ठूलो सुरक्षा चुनौती भएको अमेरिकी रक्षा मन्त्रालयको नयाँ रक्षा रणनीतिले उल्लेख गरेको छ । 

अमेरिकी सेनालाई कसरी हातहतियारले सुसज्जित पार्ने र भविष्यका लागि आकार दिने भन्ने कुरा बेइजिङले निर्धारित गर्ने दस्तावेजमा उल्लेख गरिएको छ । 

बिहीवार जारी गरिएको दस्तावेजमा चीनसँगको द्वन्द्व अवश्यम्भावी वा वाञ्छनीय नरहेको उल्लेख छ । चीनले दक्षिण चीन सागरमा आक्रामकता बढाइरहेको र ताइवानमाथि दबाब चर्काएको भन्दै अमेरिकाले बेइजिङको प्रभुत्व रोक्न प्रयास गर्ने बताइएको छ । 

हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साझेदारीलाई अवमूल्यन गर्न चीनले कोशिश गरिरहेको र आफ्ना छिमेकीहरूलाई थर्काइरहेको पेन्टागनको दस्तावेजमा लेखिएको छ । 

कुल ८० पृष्ठको यो दस्तावेजमा मस्को अमेरिका तथा उसका साझेदारका लागि जोखिम भएको पनि उल्लेख छ । आणविक हतियार, साइबर कारवाही तथा लामो दूरीको क्षेप्यास्त्रका कारण रुस खतरनाक प्रतिद्वन्द्वी भएको बताइएको छ । 

चीन र रुसबीचको मित्रता बढिरहँदा अमेरिकाको रक्षा र सुरक्षालाई चुनौती तेर्सिएको दस्तावेजमा लेखिएको छ । आतंकवादी जोखिम पनि कायम रहेको उल्लेख छ । 

रुस र चीनका रूपमा आणविक हतियारयुक्त दुई मुलुकको चुनौती अमेरिकाले बेहोर्नुपरेको पनि प्रतिवेदनमा लेखिएको छ । 

बिहीवार नै क्षेप्यास्त्र रक्षा तथा आणविक हतियारसम्बन्धी थप दुईवटा प्रतिवेदन सार्वजनिक गरिएको छ । आगामी चार वर्षका लागि अमेरिकाको सैन्य योजनाका विषयमा यी दस्तावेजहरूले ब्लुप्रिन्ट उपलब्ध गराएका छन् ।

चीनले अर्थतन्त्रमा आफूलाई उछिन्न लागेको अनि सार्वभौमसत्तालाई पनि दह्रो गरी प्रतिरक्षा गरिरहेकाले उसलाई जोखिमका रूपमा अमेरिकाले चित्रण गरेको विश्लेषकहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्