०२ साउन २०८३, शनिबार

सरसर्ती २४ घण्टा : डा कार्कीको उम्मेदवारी खारेजदेखि माओवादीका नेतामाथि कारबाहीसम्म

कात्तिक १३, २०७९
सरसर्ती २४ घण्टा : डा कार्कीको उम्मेदवारी खारेजदेखि माओवादीका नेतामाथि कारबाहीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसले आगामी १ दशकको लक्ष्य सहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । शनिवार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट निर्वाचित भएपछि बन्ने सरकारले गर्ने कामको प्राथमिकता, योजना र लक्ष्य कांग्रेसले घोषणा पत्रमार्फत सार्वजनिक गरेको छ । 
घोषणा पत्रमा कांग्रेसले आगामी १ दशकभित्रमा नेपाललाई मध्यम आय भएको समन्यायिक मुलुक बनाउने लक्ष्यसहित समुन्नत नेपालको मार्गचित्र समावेश गरेको छ ।

कांग्रेसले समुन्नत नेपालका ५ आधारहरू घोषणा पत्रमा उल्लेख गरेको छ । लोकतन्त्रको शुद्धीकरण र सुशासन, समावेशी आर्थिक सामथ्र्य, समन्यायिक समाज र सांस्कृतिक सहअस्तित्व, जलवायु परिवर्तन, वातावरण र विपद् व्यवस्थापन, सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकालाई समुन्नत नेपालको २ आधार भनिएको छ ।
००००
निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

डा कार्की लाभको पदमा बहाल रहेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजात पठाएको थियो । 

उम्मेदवार डा कार्की मिति २०७८ पुस २ गतेदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम २०७९ वैशाख ९ देखि २०७९ भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
००००
यसैगरी कार्कीले निर्वाचन आयोगले गरेको आफ्नो उम्मेदवारी खारेजी निर्णय शंकास्पद रहेको प्रतिक्रिया दिएकी छन् । निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने उनको धारणा छ । 

यसबारे आफूले न्याय क्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरूसँग परामर्श गरेको र उनीहरु सबैबाट मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएको उल्लेख गरेकी छन् । उनले अदालत जाने पनि बताएकी छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले कार्कीको उम्मेदवारी खारेजी भएको विषयमा आक्रोश पोखेका छन् । निर्वाचन आयोगले कार्कीले सरकारी लाभको पद लिएको ठहर गर्दै उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो । 
सो निर्णयप्रति आक्रोश पोख्दै उनले अझै पनि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीको १३१ र समानुपातिकतर्फ उम्मेदवार रहेको उल्लेख गर्दै  परिवर्तनको घण्टी बजाइ छाड्ने उद्घोष गरेका छन् ।
००००
निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।  निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
००००
निर्वाचन आयोगले धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुली कुमारी महतोलाई स्पष्टीकरण सोधेको छ ।  तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
००००
नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनले गरेको निर्णय अस्वीकार गरेको छ । माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० को कमिटीले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले कात्तिक ११ गतेको गठबन्धनको निर्णय अस्वीकार्य भएको जनाएको छ । 

क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ अञ्जना विशंखे, प्रदेशसभा (क) मा दिलीप महर्जन र (ख) मा गणेश बहादुर कुँवर रहेको स्पष्ट गर्दै उम्मेदवारी कायम रहेकाले भ्रममा नपर्न अनुरोध गरेको छ । 
गठबन्धनको निर्णयमा काठमाडौं १० र सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा मित्रवत प्रतिस्पर्धा भनिएपनि (ख) मा भने समाजवादीका रमा आले मगर साझा उम्मेदवार भएको उल्लेख छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै १०० सिट जित्ने दाबी गरेका छन् ।
उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत र्पुयाउने दाबी गरे । शुक्रवार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिवार दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।’
००००
सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ ।
००००
सत्ता गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका ५ जना नेतालाई कारबाही गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विशेष परिपत्र जारी गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।

प्रचण्डले हस्ताक्षर गरेर शुक्रवार जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने केन्द्रीय समिति सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ ।’  कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर, केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल छन् ।
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ भएको छ । 
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधि सभातर्फ ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
००००
कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । 
कोदोबारीमा बालबालिका पुगेको बेला बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
००००
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ हेर्न हलमा दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार बक्स अफिसमा १ करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गर्दै बम्पर ‘ओपनिङ’ गरेको छ । शुक्रवार बिहानैदेखि उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको थियो । धेरै हलहरू शुक्रवार ‘हाउस फूल’ देखिएका थिए ।
 शनिवार पनि बिहानैदेखि देशभरका हलमा दर्शकको उपस्थिति बाक्लो छ । लेखक एवं निर्देशक प्रदीप भट्टराईले बिहानैदेखि अधिकांश हलहरू ‘हाउस फूल’ रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्