
रुपन्देहीको रोहिणीस्थित धकधईमा मंगलवारदेखि बृहत् खुला कुस्ती (दंगल) प्रतियोगिता शुरू भएको छ ।
रोहिणी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १११ रुपैयाँ, द्वितीय हुनेलाई ५० हजार ५५५, तृतीयलाई २५ हजार २२५ र सान्त्वनालाई १५ हजार १२५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए ।
यादवले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरूलाई प्रोत्साहनबापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ ।’
गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए ।