
नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र स्थायी कमिटी सदस्य घनश्याम भुसाल केही समय अघिसम्म सहकर्मी थिए ।
तत्कालीन नेकपा र त्यसपछि एमालेमा चर्किएको अन्तरविरोधमा विश्वकर्मा अध्यक्ष केपी शर्मा ओली र भुसाल वरिष्ठ नेता माधव नेपालसँगको कित्तामा रहे । माधव नेपाल पार्टी विभाजन गरेर एकीकृत समाजवादीको अध्यक्ष बने पनि भुसाल उनीसँग गएनन्, एमालेमै रहे ।
तर, पछिल्लो समय टिकट वितरणमा अन्याय भएको भन्दै भुसाल एमालेबाट अलग भएका छन् । एमालेमा लामोसमय सँगै काम गरेका दुई सहयात्री अहिले एकअर्काका प्रतिद्वन्द्वी भएर उभिएका छन् ।
यी दुई नेता ४ मंसिरमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा रूपन्देही– १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । विश्वकर्मा र भुसालमध्ये एकले जित्दा अर्कोले हार्नेछन् ।
एमाले छाडेर सत्तारूढ कांग्रेस–माओवादी गठबन्धनको साथमा स्वतन्त्र उम्मेदवार बनेका भुसाल मार्क्सवादी अध्येता र बौद्धिक नेताको रूपमा चिनिन्छन् । विश्वकर्मा भने नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् । नेता भुसालले एमाले परित्याग गर्नुअगाडि दुवै नेता यही क्षेत्रबाट उम्मेदवारमा सिफारिश भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रूपन्देही– १ बाट माओवादी केन्द्रका घनश्याम यादवले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले चुनाव जिते । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी विश्वकर्मा झिनो मतले पराजित भएका थिए ।
२०७४ मा वाम गठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस रज्जाक पराजित भए । भुसालले पनि यही क्षेत्रबाट २०५१ को मध्यावधि निर्वाचनमा जित निकालेका थिए । संगठनात्मक अवस्था हेर्दा पूर्वमन्त्रीद्वय विश्वकर्मा र भुसालको कडा प्रतिस्पर्धा हुने देखिन्छ । भुसाल एमालेमा रहँदा यही क्षेत्रमा संगठन निर्माणको काममा खटिएका थिए ।
व्यक्तिगत र सांगठनिक प्रभावभन्दा गठबन्धनको बलमा भुसाल चुनावी मैदानमा खटिरहेका छन् । सांगठनिकरूपमा पकड भएको एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को बलियो साथमा चुनावी मैदानमा उत्रिएका विश्वकर्मा आफ्नो मत जोगाउने रणनीतिमा लागेका छन् । दुई पूर्व सहकर्मी भिड्दा रुपन्देही १ को चुनावी रौनक बढेको छ ।
एमालेका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका विश्वकर्माले तीन पार्टीको शक्तिको आधारमा आफू भारी मतका साथ जीत निकाल्ने दाबी गरे ।
‘यहाँ एमाले आफैँमा बलियो छ । त्यसमाथि राप्रपा र जसपाको बलियो संगठनले हामी १२ हजार मतले अगाडि छौं । हाम्रो जीत सुनिश्चित जस्तै छ,’ विश्वकर्माले भने ।
तेस्रोपटक चुनावी मैदानमा उत्रिएका विश्वकर्मा यो क्षेत्रका परिचित अनुहार हुन् । २०७४ मा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए ।
विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८८५ मत मात्रै पाएका थिए । त्यसबेला विश्वकर्मालाई माओवादी केन्द्रको साथ थियो ।
रज्जाकले अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले राप्रपा गठबन्धनबाट १ (१) मा राप्रपाका आशिषकुमार चौधरी र १ (२) मा एमालेका दधिराम न्यौपाने उम्मेदवार छन् । न्यौपाने माओवादी छाडेर एमाले प्रवेश गरी प्रदेशसभा सदस्यको उम्मेदवार भएका हुन् । न्यौपाने यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्रिभुज चुनाव चिह्न लिएका भुसालका लागि यो संगठन विस्तार गरेको क्षेत्र हो । २०७४ मा रूपन्देही– ३ बाट सांसद भएका कारण धेरै मतदाताबीच उनी यहाँ नयाँ पहिचान बनाउँदै छन् । तर, गठबन्धनको साथले उनीलाई सहज हुने उनी निकट नेताहरूको भनाइ छ । पूर्वनेता भएका कारण एमालेकै केही र स्वतन्त्र पक्षधरका केही मत समेत भुसालले आफ्नो पक्षमा तान्न सक्ने सम्भावना छ ।
केही नेता/कार्यकर्तासहित रोहिणी गाउँपालिकाका पूर्वअध्यक्षलगायत नेता एमाले छाडेर घनश्यामको समर्थनमा लागेका छन् । एमाले देवदह नगर कमिटी अध्यक्ष तथा २०७४ मा मेयरका उम्मेदवार टीकाराम चापागाईंले पनि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन । चापागाईंले पनि एमालेको केही मत आफूतिर तान्ने देखिन्छ, जसको फाइदा गठबन्धनको साथ पाएका भुसाललाई हुन सक्ने देखिन्छ ।
३० वैशाखको पालिका निर्वाचनमा दलहरूले पाएको मतलाई आधार मान्दा एमाले नेतृत्वको गठबन्धन अगाडि छ ।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षको मत गणना गर्दा, एमाले, राप्रपा र जसपाको जम्मा मत ५१ हजार ६४५ देखिन्छ । यता कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाले जम्मा ३८ हजार ३१ मत ल्याएका थिए ।
एमाले नगर इञ्चार्ज यम रानाले मतभारका हिसाबले विश्वकर्मा धेरै बलियो रहेको र जीत सुनिश्चित हुने दाबी गरे ।
रुपन्देही– १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसको सबैभन्दा धेरै ३२ हजार ९९९ मत छ । एमालेले ३० हजार ३०९, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एसले १ हजार २४३ र लोसपाले ३२५ मत ल्याएका थिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा भुसाललाई समर्थन गरेपछि माओवादीभित्रै पनि असन्तुष्टि बढेको छ ।
युवा नेता लेखनाथ न्यौपाने, मकसुद अली, शिव धवललगायत आकांक्षी थिए । भुसाल कांग्रेस, माओवादीसहित गठबन्धनको पूर्ण साथ आफूलाई रहेको दाबी गर्छन् । भुसालले गठबन्धन र आफ्ना चुनावी एजेन्डा नै जीतको आधार रहेको बताए । शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारी लगायतका एजेन्डा भुसालले अगाडि सारेका छन् ।
विश्वकर्मा पक्षधर नेताहरू भने टिकट नपाएपछि पार्टी छाड्ने र सत्ता गठबन्धनको उम्मेदवार बन्ने कुराले भुसालको पक्षमा मतदाता नलाग्ने टिप्पणी गर्छन् । सिद्धान्त र विचारका विज्ञ व्यक्ति टिकट नपाउँदैमा पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिन गलत भएको उनीहरूको तर्क छ ।
टिकटको होडमा एउटै दलमा सहयात्रा गरेका र पटक–पटक मन्त्री बनेका नेता प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा आएपछि सर्वसाधारण मतदाता भने अन्योलमा छन् । यो क्षेत्रमा गठबन्धनले प्रदेशसभा १ (१) मा विश्वनाथ यादव र १ (२) मा अब्दुल रज्जाक उम्मेदवार बनाएको छ । दुवै प्रदेशसभाका उम्मेदवार कांग्रेसका हुन् । कांग्रेस क्षेत्रीय सभापति हिरा खत्री भुसाललाई गठबन्धनले सहज रूपमा भोट मागेको बताउँछन् ।