
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पठाइने भएको छ । एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा काठमाडौं अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई सुन्धारा कारागार चलान गर्ने तयारी गरिएको हो ।
शुक्रवार काठमाडौं अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासमा सन्दीपको मुद्दाको सुनुवाइ भएको थियो । उनलाई गत बुधवार अदालतमा पेश गरिएको थियो । बिहीवार सन्दीपका कानून व्यवसायीहरूले बहस गरेका थिए । शुक्रवार सरकारी पक्षका वकिलहरूले बहस गरेका थिए ।
लामिछानेले भदौ ५ गते गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् । लामिछाने त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।
उनी असोज २० गते नेपाल फर्किएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।