
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ ।
निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई शनिवार र आइतवार तालिम प्रदान गरिएको छ । क्षेत्र नम्बर १ अन्तर्गतका ३०४ र क्षेत्र नम्बर २ अन्तर्गतका ३०६ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न भएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए ।
तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको छ ।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्ने लगायत विषयमा तालिममा जानकारी गराइएको छ ।
मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए । केसीले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, ‘निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । ‘मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसर बाँकी राखिँदैन,’ उनले भने, ‘ढुक्क भएर निष्पक्ष रूपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।’
मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए ।