
कुनै न कुनै शत्रु खडा नगरेमा नेटोको अस्तित्व नै नरहने रुसका परराष्ट्र राज्यमन्त्री अलेक्जेन्डर ग्रुश्कोले बताएका छन् ।
‘शत्रुविना बाँच्नै नसक्ने संस्थाका रूपमा नेटोलाई लिन सकिन्छ,’ उनले स्पुतनिक पत्रिकासँगको कुराकानीमा बताए । ‘शत्रु नहुने हो भने यो मर्छ । शत्रुको एउटा छवि निर्माण गर्ने अनि त्यस शत्रुदेशको सीमानजिक आइपुग्ने नेटोको रणनीति हो ।’
नयाँ नयाँ क्षेत्रमा नेटोको विस्तार भइरहेको उनको भनाइ छ । अहिले उसले चीन नजिक सैन्य संरचना बनाइरहेको पनि उनको दाबी छ ।
‘एसियामा आफूहरूको चासो रहेको उनीहरूले बताइसकेका छन् अनि चीनको सीमानजिक प्रतिरक्षा क्षेत्र बनाइसकेका छन्,’ ग्रुश्कोले थपे ।
अमेरिका र नेटो सदस्य राष्ट्रहरूले आसियान क्षेत्रमा हस्तक्षेप गर्न खोजेको अनि चीन र रुसलाई रोक्नका लागि सैन्य गठबन्धन पनि गर्न चाहिरहेको भनी रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले आइतवार बयान दिएका छन् ।