२२ असार २०८३, सोमबार

क्यान्सर रोगीको संख्या बढ्दो क्रममा, चार वर्षमा दोब्बर

कात्तिक २०, २०७४
क्यान्सर रोगीको संख्या बढ्दो क्रममा, चार वर्षमा दोब्बर

झापा, २६ साउन– चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो ।

त्यस्तै, आव २०६९/०७० मा ९२ जना र आव २०७०/०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले प्रमाणसहित आएका सबै क्यान्सर रोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरिएको बताए ।

यस्तै, कार्यालयले गत आव २०७३/०७४ मा ६६५ जना दीर्घरोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरेको छ, जसमा क्यान्सरका ३१२ जना, मुटुका १९५, मिर्गौलाका १४२, स्पाइनल इन्जुरी छ, पार्किन्सन्स् चार, हेड इन्जुरीका पाँच र सिकलसेल एनिमियाका एकजना बिरामी रहेको कार्यालयका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।

मेची अञ्चल अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरले पछिल्लो समयमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण बन्दै गएको बताउनुभयो । ‘हामीले खाने खानामा विषादी त छँदैछ,’ उनले भने, ‘त्यसमाथि चुरोट, गुट्खा, खैनी थपिएपछि रोग त लाग्ने नै भयो ।’

खानपानमा सुधार गरेर नियमित व्यायाम गरे जटिल तथा दीर्घरोगबाट बच्न सकिने उनले सुझाए । ‘स्वास्थ्य नै प्रमुख हुने भएकाले स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक जीवन सञ्चालन गर्नुपर्छ,’ उनी भन्छन्, ‘खानेकुराले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आफूले खाने खानाको फाइदा–बेफाइदाबारे बुझेमात्र पनि पुग्छ, अरु केही गर्नुपर्दैन ।’

सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारको घोषणा गरेको छ । सोहीअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालयले त्यस्ता बिरामीको उपचारका लागि सिफारिश गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्