असोज ४, २०८०
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
मंसिर १, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धरातलीय यथार्थ बुझ्न र रिपोर्टिङका लागि सम्पादक विमल गौतम र मैले कार्तिक १८ गते काठमाडौंदेखि चितवन हुँदै सुदूरपश्चिम प्रदेशसम्मको यात्रा शुरू गरेका थियौं ।
चुनावी रिपोर्टिङमा हाम्रो यो चौथो संयुक्त यात्रा थियो । २०७४ सालको स्थानीय निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा यसै वर्षको शुरूमा भएको स्थानीय तह निर्वाचनमा पनि हामी झण्डै दुई हप्ता देशका दूरदराजमा पुगेर मतदाताको अभिमत बटुल्ने कोशिश गरेका थियौं ।
मंसिर ४ गते हुने आमनिर्वाचनका लागि रिपोर्टिङ गर्न लोकान्तर डट्कमको चारवटा टीम परिचालित भएका थिए । एउटा टीम प्रदेश १ मा, अर्को मधेश प्रदेशमा, एउटा बागमती प्रदेशको काठमाडौं उपत्यका र आसपासका जिल्लामा खटिएको थियो । हामी भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र भावी प्रधानमन्त्रीको रूपमा दाबी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पुग्यौं ।
पाँच वर्षमा देशमा हुन लागेको महासंग्रामको विषयमा काठमाडौंमा बसेर गरिने कोठे विश्लेषण सतही र तथ्यपरक हुँदैनन् भनेरै लामो यात्रा तय गरिएको थियो ।
मतदाताको मनोविज्ञान बुझ्न फिल्डमै पुग्नुपर्छ भनेर हामीले डडेल्धुरासम्मको यात्रा गरेका थियौं । यसक्रममा हजारौं मतदातासँग कुरा भयो । राजनीतिसँगै समाजको बदलिँदो चित्रको बारेमा पनि एउटा तस्वीर तयार भयो ।
‘हर्स रेसिङ रिपोर्टिङ’ अर्थात् नेताको पछाडि दौडने भन्दा जनताको भावना बुझ्ने हाम्रो चाहना थियो । यसक्रममा हामीले हजारौं मतदातासँग अन्तरक्रिया गर्यौं । नेतालाई पच्छ्याएनौँ, तर भेटिएका नेताहरूसँग पनि कुरा भयो । राजनीतिक दलका नेताका भाषण आमजनताका लागि रुचिको विषय बन्न छाडिसकेको छ ।
चितवनका मतदातामा देखिएको विद्रोही चेत
रिपोर्टिङको औपचारिक शुरूआत हामीले चितवनबाट शुरू गरेका थियौं । ६ महिनाको अन्तरालमा चितवनका मतदातामा आएको अभूतपूर्व परिवर्तनले हामीलाई झस्काइदियो । गत स्थानीय तह निर्वाचनमा चितवन पुगेर भरतपुर महानगरको मेयरका दुवै प्रत्यासी उम्मेदवार र मतदातासँग कुरा गर्दा रेणु दाहालले जित्ने अनुमान लगाउन कठिन भएको थिएन ।
चितवन यसपटक दुई कारणले चर्चामा थियो । पहिलो प्रचण्डले चितवन छाडेका कारण, दोस्रो रवि लामिछाने चुनाव लड्न झरेका कारण । प्रचण्ड गोरखा सरेसँगै चितवनको चुनावी माहोल माथि सरेको एकथरी आकलन थियो । तर त्यहाँ अर्को माहोल तातिरहेको थियो ।
चितवन झर्नुपूर्व नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र चितवन– २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको पक्षमा यस्तो माहोल होला भन्ने कुरा मैले अनुमान गरेको थिइनँ । काठमाडौं छाडेर रवि किन चितवन झरे भन्ने धेरैको प्रश्न थियो ।
कार्तिक १८ र १९ गते हामीले चितवन– २ का विभिन्न स्थानमा पुगेर मतदातासँग कुरा गरेका थियौं ।
हामीले कुरा गरेका बहुसंख्यकले यसपटक स्वाद फेर्न लागेको कुरा गरे । प्रस्ट भाषामा भन्नु पर्दा उनीहरू यसपटक रवि लामिछानेलाई भोट हाल्न तयार रहेको पाइयो । एउटा टेलिभिजन कार्यक्रम सञ्चालन गरेको भरमा दशकौं पुराना र गाउँ टोलसम्म संगठन भएका राजनीतिक दललाई पछि पारेर चार महिनाको राजनीतिक दलले चुनाव जित्ने कुरा कसरी सम्भव हुन्छ ?
स्थानीय मतदातासँग गरिएको कुराकानीमा नयाँ उम्मेदवारप्रतिको भरोसाभन्दा पनि पुरानाप्रतिको आक्रोश धेरै देखियो ।
‘हामी अरूभन्दा फरक हौं भन्दै आएका सबै दललाई परीक्षण गरियो, उनीहरूले काम गरेनन् । नेता मोटाए, भ्रष्टाचार बढ्यो । फेरि उनीहरूलाई किन दिने ?’ विकास क्षेत्रीले प्रश्न गरे ।
चितवनबाट हामी गोरखा पुग्यौ, जहाँ भावी प्रधानमन्त्रीका एक जना दाबेदार प्रचण्ड उम्मेदवार छन् ।
गोरखाको एउटा भेग छेवेटार र अर्को पालुङटार क्षेत्रका मतदातासँग कुरा गर्यौं । गोरखाका मतदाताको मन पनि बदलिएको छ ।
गठबन्धनको भोटका कारण प्रचण्ड गोरखामा सुरक्षित छन्, तर वैकल्पिक राजनीतिको लहरबाट गोरखा समेत मुक्त छैन ।
यतिसम्म कि गोरखामा अब ‘बाबुराम ब्रान्ड’ बिक्न छाडेको स्थानीय मतदाताको धारणा पाइयो ।
२०६४ सालमा कीर्तिमानी जीत हासिल गरेका बाबुराम चुनाव नलड्ने निर्णयमा पुग्नुमा गोरखाका जनताको बदलिएको मनोविज्ञान कारण भएको स्थानीयको दाबी थियो ।
चितवनदेखि गोरखा हुँदै तनहुँसम्म पुग्दा मतदाताले व्यक्त गरेको रायका आधारमा सम्पादक विमल गौतमले एउटा लेख लेख्नुभयो– शीर्ष नेताका लागि यो चुनाव अन्तिम चिट्ठा हुन सक्छ !
देशमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्र ल्याउने आन्दोलनमा योगदान गरेका राजनीतिक दलहरूप्रति जनताले व्यक्त गरेको निराशाले राजनीतिक दल र मतदाताबीचको ग्याप बुझ्न सकिन्छ ।
अहिलेको सत्ता सञ्चालनको शैलीबाट मतदाता खुशी होइन, रुष्ट छन् ।
पोखरा र स्याङ्जाका मतदातामा देखिएको ‘चितवन भेरियन्ट’
कास्की पुगेपछि पोखराका मतदातासँग कुरा भयो । ‘नयाँ उम्मेदवार’को चितवन भेरियन्ट पोखरामा पनि सरेको देखियो । मूलधारका स्थापित राजनीतिक दलका नेताप्रतिको आक्रोश पोखरामा झन् बढी देखियो ।
पोखरामा ट्याक्सी चलाउने पोखरा ५ का सन्दीप ढुंगानाले यसपटक मतदाताको रुचिमा धेरै फेरबदल आएको सुनाए ।
‘यसपटक यी (पुराना) पार्टीलाई भोट नदिने सल्लाह छ । यसपटक युवाहरूको भोट फलानो पार्टीमा जान सक्छ,’ उनले कास्कीमा भइरहेको राजनीतिक चर्चा सुनाए ।
अर्का मतदातासँग कुरा भइरहेको समयमा विदेशबाट फर्केर पोखरामै ट्याक्सी चलाउने स्याङ्जा हरिनासका बालकृष्ण लम्साल मेरो पनि केही कुरा छ भन्दै आए ।
‘जनताले यसपटक विकल्प खोजेका छन्, देशका ठूला भनिएका दलले जनताको पीर मर्का बुझेनन् । यसपटक जनताले विद्रोह गर्न सक्छन्,’ लम्सालले निष्कर्ष सुनाए ।
गणतन्त्रले पनि जनतामा कुनै प्रतिफल दिन नसकेकोमा उनीहरूको व्यापक गुनासो थियो ।
पोखरा– १७ छोरेपाटनका कुलबहादुर कुँवरले थपे, ‘भारतमा साढे ३ लाख पर्ने ट्याक्सीलाई नेपालमा ३० लाख पर्छ । जनतालाई यति धेरै कर लिएर सांसद र मन्त्री पाल्नुपर्ने किन ? के गणतन्त्र नेताहरूका लागि मात्र हो ? यस्तो संघीयता केका लागि चाहियो ?’
समिता आचार्य र भगवती अधिकारीले यसपटक पोखराका जनतामा अचम्मको सोचाइ आएको बताए ।
‘यसअघि हामीले केही परिवर्तन होला भनेर भोट दिएका थियौं, दलहरूले विश्वासघात गरे । फेरि पनि उनीहरूलाई भोट दिने मूर्खता गर्ने ?’ आचार्यको प्रश्न थियो ।
चितवन र पोखरामा भइरहेको राजनीतिक परिवर्तनको झिल्को स्याङ्जासम्म फैलिएको थियो ।
‘हुन त म नेविसंघको राजनीति गरेकी व्यक्ति हुँ, तर यसपटक कांग्रेसलाई भोट दिन्नँ । नयाँ उम्मेदवारलाई भोट दिन्छु,’ वालिङमा फेन्सी पसल सञ्चालन गरेर बसेकी सीता लम्सालले भनिन् ।
वालिङकै राधा डुम्रेले पनि पुराना दलबाट जनताको भावनाअनुसार काम नभएको भन्दै नयाँ रोज्ने विचारमा रहेको बताइन् ।
‘म मात्र होइन, ६८ वर्षको मेरो ससुरा पनि यसपटक नयाँलाई रोज्ने तयारीमा हुनुहुन्छ, उनै पुराना दललाई भोट दिएर हाम्रो सन्ततिको भविष्य किन बिगार्ने ?’ राधाले प्रश्न गरिन् ।
स्थानीय विष्णु श्रेष्ठले अहिलेसम्म चुनाव जितेर गएका नेताले कुनै काम नगरेको भनेर आक्रोश पोखिन् । ‘काम नगर्नेलाई फेरि किन भोट दिने ?’ श्रेष्ठको आक्रोश थियो ।
डडेल्धुरामा सागर ढकाल, बाहिर धेरै चर्चा
देश विदेशदेखि सामाजिक सञ्जालमा सागर ढकाल चुनावमा चर्चाको विषय बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुगेका ढकालबारे धेरैले चासो व्यक्त गरिरहेका छन् ।
सामाजिक सञ्जालमा भएजस्तो चर्चा फिल्डमा देखिएन । रात्रिबस चढेर जुलाइ १२ मा डडेल्धुरा पुगेका ढकालले जिल्लाका बहुसंख्यक गाउँ डुले । जनताको घरमा गएर खाना खाए । तिहारमा टीका लगाएर नाता पनि गाँसे ।
तर पनि फिल्डमा उनले चुनाव जित्ने खालको माहोल बनाउन सकेका छैनन् । देउवाका अन्धभक्त समर्थक मतदाताले सागरको कुरा सुनिरहेका छन्, तर देउवालाई छाड्न सकेका छैनन् । अमरगढीमा भेटिएका महावीर टमाटाले ‘चुनाव जिते पनि, हारे पनि’ देउवालाई नै भोट हाल्ने बताए ।
स्थानीय मुन्दोदरी बोहाेराले आफूहरूका लागि देउवाले राम्रो गरिरहेको दाबी गरिन् । ‘हामीले अरू सोचेका छैनौं, देउवाबाहेक अन्यत्र भोट हाल्नेबारे हामी सोच्दैनौं,’ बोहोराले भनिन् ।
प्रधानमन्त्रीको जिल्ला जहाँका युवाहरू भारतलगायत तेस्रो मुलुकमा सस्तो श्रम बेच्न पुगेका छन् । त्यसैले त्यहाँ ‘फ्री भिसा र फ्री टिकट’को नारा बिकिरहेका छन् ।
झण्डै चार महिनाको बसाइमा ढकालले स्थानीय लबज बोल्न सिकेका छन् । शेरबहादुरलाई हजुरबुवा सम्बोधन गरेर अब उनलाई विश्राम दिन अनुनय विनय गरेका छन् । मतदातालाई हातमा ढोग्दिने गरेका छन् ।
रूपन्देही– २ मा उम्मेदवारी खारेज भएपछि डा. निकोलस भुसाल सागर जिताऔं अभियानमा लागेका छन् । सागरसँग सेल्फी खिच्ने युवा र विद्यार्थीको कमी छैन । तर पनि चुनावमा देउवालाई पछार्न जादु/चमत्कार गर्नुपर्ने देखिन्छ ।
सागरप्रति देशभरमा मतदाताको निकै उत्सुकता छ । बुटवलकी स्थानीय महिलाले सागरलाई प्रचारप्रसारमा रोक लगाएको बारे आक्रोश जनाइन् । ‘सरकारको पैसा खाएका पुलिसले त्यो बालकलाई कार्यक्रम गर्न दिएनछ । म त्यहाँ भएको भए, त्यो पुसिललाई मुक्का हान्थें,’ ज्ञानु केसीले भनिन् ।
सिन्धुली खनियाबासमा भेटिएका एक मतदाताले आफूलाई सबैभन्दा बढी सागरको चासो र चिन्ता लागेको बताए ।
कैलालीदेखि महोत्तरीका मतदाताको उस्तै भावना, एउटै स्वर
कोभिडको भाइरस जस्तै मतदातामा देशभर एउटै भाइरस फैलिएको छ, पुरानाले केही गरेनन्, नयाँलाई टेस्ट गर्ने । बालेन साह (काठमाडौंका मेयर), रवि लामिछाने र लौरोको कुरा गर्छन्, उनीहरू ।
कैलालीको गोदावरी नगरपालिकाकी शान्ता भण्डारीले यसपटक नयाँ उम्मेदवारलाई अवसर दिने चाहना रहेको बताइन् ।
‘यसपटक पार्टीभन्दा पनि व्यक्ति हेर्ने हो । लेखराजलाई जिताएर पनि यहाँ विकास भएन, अरूलाई जिताएर पनि केही भएन, यसपटक नयाँ उम्मेदवारलाई भाट दिने हो,’ भण्डारीले भनिन् ।
अत्तरिया बजारमा फलफूल पसल गर्दै आएकी पूजा भट्टराईले पनि पुरानालाई भोट नदिने बताइन् । ‘कता दिने भन्ने अलमलमा छु, तर पुरानालाई भोट नदिने,’ भट्टराईले भनिन् ।
दाङ, कपिलवस्तु र रूपन्देहीका मतदातामा पनि स्थापित दलहरूप्रतिको असन्तुष्टि व्यापक देखियो ।
बुटवलका सीता गुरुङ, रमा गौतम र उमा अर्याल पनि यसपटक नयाँ उम्मेदवार रोज्ने योजनामा रहेको बताए ।
पश्चिम नेपालका जिल्लामा मतदाताको भावना बुझेपछि हामीले फेरि चितवनका मतदातासँग छलफल गर्यौं ।
‘हुन त म कांग्रेसको क्रियाशील सदस्य हो । चुनावमा हिँड्नु पर्ने थियो, तर कांग्रेसलाई भोट दिन्नँ,’ नारायणगढ बजारमा फेन्सी पसल सञ्चालन गरेर बसिरहेका स्थानीय मतदाताले भने ।
फेसबूक, टिकटक र युट्युबबाट सञ्चार क्रान्ति
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मतदातामा आएको यो हदसम्मको चेतनाको कारणचाहिँ सामाजिक सञ्जाल हो ।
गाउँ–गाउँसम्म इन्टरनेटको विस्तार पनि यसको एउटा कारण हो । ‘फेसबूक र युट्युबमा आएका सामग्री हेरेर पनि यहाँका मतदाताले धारणा बनाएको पाइयो,’ बुटवलका प्रकाश आचार्यको विश्लेषण छ ।
सामाजिक सञ्जालले मतदातालाई एकप्रकारले जागरुक त बनाएको छ, तर युट्युबमा आएको नै सही हो भन्ने गलत धारणालाई पनि स्थापित गराएको छ । कुन सही, कुन गलत भन्ने छुट्ट्याउने क्षमता नभएका महिलाले केही अफवाहलाई समेत विश्वास गरेको पाइयो ।
‘कालापानी बेचेर खाए रे, अब एमसीसी ल्याएर फेरि के गर्न लागेका हुन् नेताहरूले ? बुटवल पनि बेच्न लागेका हुन् र बाबु ?’ मोबाइलमा भिडियो हेरेको आधारमा एक वृद्ध महिलाले प्रश्न गरिन् । यस्तो कुरा कसरी थाहा पाउनुभयो भनेर सोध्दा उनले मोबाइलमा भिडियो हेरेर थापा पाएको बताइन् ।
निरक्षर महिलाले पनि मोबाइलमा भिडियो हेरेको भरमा एउटा धारणा बनाइरहेका छन् । ‘बलात्कारको आरोप लागेका नेताले जेल बस्न नपर्ने ? पल शाह, सन्दीप लामिछाने र रवि लामिछानेलाई मात्र फसाउने ?’ दाङमा भेटिएकी सुभद्रा गौतमले प्रश्न गरिन् ।
काठमाडौंका मेयर बालेन र धरानका हर्क साम्पाङले गरिरहेका कामबारे अनलाइन सञ्चार माध्यम, फेसबूक र युट्युबाट हेरेर जानकारी लिएको बताए । मतदाता यति बाठा कि कुनै राजनीतिक दलले पैसा दिएमा खाइदिने र भोट भने आफूले चाहेको दल या उम्मेदवारलाई बताइरहेका थिए ।
दलका कार्यकर्तामा देखिएको अन्योल र निराशा
राजनीतिक रूपले देशको दिशानिर्देश गर्ने महासंग्राममा मुलुक होमिए पनि स्वयं प्रमुख राजनीतिक दलका कतिपय कार्यकर्ता भने चुनावमा खुलेर लागेका छैनन् ।
दलभित्रको दुईलाइन, उम्मेदवार छनोटमा भएको असन्तुष्टिलगायतका कारणले दलका कार्यकर्ता सक्रिय सहभागी नभएको पाइयो ।
‘जीवनभर एउटा पार्टीको दर्शन र सिद्धान्तमा हिँडेको व्यक्ति अरूको पार्टीको चुनाव चिह्नमा भोट माग्न कसरी हिँड्नु,’ चितवनको टाँडीमा भेटिएका माओवादीका एक कार्यकर्ताले भने ।
आम मतदाताले गरेका प्रश्नका कारण पनि दलका कार्यकर्ता नैतिक संकटमा परेका छन् ।
‘संविधान बनेपछि देशमा कायापटल हुन्छ भनेर भोट मागेको हो, त्यसो हुन सकेन । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनेपछि देशमा स्थिरता ल्याउँछौ भनेका थियौं,’ बाँकेमा भेटिएका अर्का माओवादी नेताले भने, ‘जनताकोमा मुख देखाउन लाज मान्नु पर्ने अवस्था छ ।’
जागरुक मतदाताले यसपटक नेता र कार्यकर्तासँग प्रश्न गरिरहेका छन्, ‘तपाईंलाई फेरि किन भोट हाल्ने ? विगतमा के गर्नुभयो ?’ यी प्रश्नको जवाफ तलका कार्यकर्तासँग छैन ।
मूलधारका स्थापित राजनीतिक दलप्रति मतदाताको आक्रोश पोखिँदा मंसिर ४ को चुनावी नतिजामा उलटफेरको सम्भावना हुनसक्छ । ‘नयाँ स्वाद’ चाख्ने बताएका मतदाताले सोहीअनुसार भोट हाले भने नयाँ सरकार गठनका लागि समीकरण फेरबदल गर्ने गरी नयाँ दल संसदमा आउन सक्छन् ।
मंसिर– ४ को निर्वाचनको नतिजाले प्रतिनिधिसभा त्रिशंकु बन्ने त निश्चित नै छ, मूलधारका राजनीतिक दलले राम्रै धक्का महसूस गर्ने छनक देखिएको छ ।
विभिन्न दल या स्वतन्त्र उम्मेदवारी दिएका नयाँ युवाले देशभर चुनावी समीकरणमा मतदातामा पलाएको विद्रोही चेत एक प्रकारको ‘चुपचाप क्रान्ति’को लक्षणको रूपमा देखिँदैछ ।
त्यो आक्रोश मतमा रूपान्तरण हुन्छ कि हुँदैन त्यो प्रमाणित भने मतपत्रका बाकस खोलेपछि थाहा हुनेछ ।
लोकान्तरले गरेका चुनावी रिपोर्टिङका समाचारहरू पढ्नयहाँ क्लिक गर्नुहोस् ।
लोकान्तरले देशभरमा गरेको चुनावी रिपोर्टिङमा प्रकाशित समाचार र विश्लेषण
पढ्नुहोस्, स्थानीय चुनावका बेला लेखिएको संस्मरण :
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...