
प्रतिनिधिसभातर्फको जारी मतगणनामा जाजरकोट र सल्यानमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् ।
जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले नेकपा एमालेका निरज आचार्यभन्दा एक हजार ९२३ मतले अग्रता लिइरहेका छन् । बस्नेतले पाँच हजार ३७७ र आचार्यले तीन हजार ४५४ मत प्राप्त गरेका छन् । पूर्वगृहमन्त्री बस्नेत माओवादी केन्द्रका उपमहासचिव र आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । आइतबार सम्पन्न मतदानमा जाजरकोटमा प्रतिनिधिसभातर्फ ६५ हजार ९६१ मत खसेको थियो ।
त्यस्तै, सल्यानमा पनि नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले दोब्बरभन्दा बढी मतान्तरले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहभन्दा सात हजार ५५७ मतले अग्रता कायम गरेका हुन् ।
सल्यानमा प्रतिनिधिसभातर्फ ८४ हजार २२ मत खसेको थियो । शाहले टिकट नपाएपछि कांग्रेसबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन । २०७४ मा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ज्वाला तीन वर्ष प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
नेकपा विघटन र माओवादी केन्द्रका नेता एवं तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णयविपरीत विश्वासको मत दिएपछि उनीलगायत चारजना सांसद निलम्बित भएका थिए । एमाले विभाजनपछि बनेको दल एकीकृत समाजवादीमा उपमहासचिव छन् । उनीविरुद्ध एमालेले उम्मेदवारी दिए पनि निकट प्रतिस्पर्धामा आउन सकेका छैनन् ।