११ साउन २०८३, सोमबार

भूमि आयोगमा थप ४ हजार बढी निवेदन

मंसिर २१, २०७९
भूमि आयोगमा थप ४ हजार बढी निवेदन

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ निवेदन परेका छन् ।

गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबूक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । 

आयोगले साउन पहिलो हप्ता निकालेको सूचनाका आधारमा ३२७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा ४ हजार ६७ जनाले निवेदन बुझाएका हुन् ।

आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवं नक्सा प्रमाणित लगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ ।

विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिइन् ।

थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा ८ हजार ५२६ जनाको निवेदन परेको उनले जानकारी दिए । आयोगको शुरूआती समयमा ४ हजार १३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।

तीमध्ये अहिलेसम्म १७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ ।

यसअन्तर्गत माडी नगरपालिकामा ९०० कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा ३ हजार ९९४ कित्ता अर्थात् १३ लाख ८१ हजार ६१६ दशमलव ९ वर्गमिटरको नाप नक्साको काम सकिएको छ ।

भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार ५२९ दशमलव ८६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताइन् । अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्