
कतारमा जारी विश्वकप फूटबल प्रतियोगिताको उपाधिका लागि आइतबार फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदैछन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरू हुनेछ ।
साविकको विजेता फ्रान्स लगातार दोस्रोपटक फाइनलमा पुगेको हो भने अर्जेन्टिनाले ८ वर्षपछि फाइनल खेल्दैछ ।
सन् २०१४ मा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै विश्वकप जित्नबाट चुकेको थियो भने २०१८ मा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि चुमेको थियो ।
२०१८ मा अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भिडेका थिए । त्यतिबेला फ्रान्स ४–३ ले विजयी भएको थियो ।
विश्वकपको फाइनल भिडन्त नजिकिँदै गर्दा अब कसले विश्वकप जित्ला भनेर चर्चा परिचर्चा भइरहेका छन् ।
अघिल्ला विश्वकपका नतिजा र संयोगहरूलाई लिएर पनि चर्चा भइरहेको छ । यसपटक अघिल्ला विश्वकपमा देखिएका केही संयोग दोहोरिएका छन्, जसका आधारमा अर्जेन्टिना जित्न सक्ने कतिपयको तर्क छ । त्यसो त फ्रान्स पनि निकै बलियो दाबेदार हो ।
जे होस्, यहाँ अर्जेन्टिनाको पक्षमा देखिएका केही संयोगको चर्चा गरौं ।
१. पेनाल्टी मिस
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ग्रुप स्टेजको तेस्रो खेलमा पोल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न सकेनन् ।
मेसीले पेनाल्टी मिस गरेसँगै यसलाई सन् १९७८ र १९८६ सँग जोडेर हेरिएको छ । ती दुवै वर्ष अर्जेन्टिनाले विश्वकप जितेको थियो ।
अचम्मको संयोग के भने ती दुवैपटक अर्जेन्टिनाका प्रमुख खेलाडीले तेस्रो खेलमा पेनाल्टी मिस गरेका थिए ।
सन् १९७८ मा मारियो केम्पेसले हंगेरीविरुद्ध र १९८६ मा डिएगो म्याराडोनाले बुल्गेरियाविरुद्ध पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । अन्तिममा अर्जेन्टिना विश्व च्याम्पियन बन्यो ।
२. पीएसजी कनेक्सन
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सको पीएसजीबाट व्यावसायिक फूटबल खेल्दै आएका छन् । यसैसँग अर्को एउटा गज्जबको संयोग जोडिएको छ, जुन दोहोरिएमा अर्जेन्टिना विश्वकप च्याम्पियन बन्न सक्छ ।
संयोग यस्तो बनेको छ कि पीएसजीमा अनुबन्धित भएलगत्तैको विश्वकपमा २ खेलाडीले उपाधि जितिसकेका छन् ।
सन् २००१ मा रोनाल्डिन्हो पीएसजीमा आबद्ध भएका थिए । त्यसको पछिल्लो वर्ष उनी समेत सम्मिलित टीम ब्राजिलले विश्वकप जित्यो ।
युवा स्टार किलियन एम्बाप्पे सन् २०१७ मा पीएसजीमा आबद्ध भएका थिए, त्यसको पछिल्लो वर्ष सन् २०१८ मा उनी सम्मिलित फ्रान्सेली टीम विश्वकप जित्न सफल भयो ।
मेसी सन् २०२१ म पीएसजीमा आबद्ध भएका हुन् । अहिले सन् २०२२ मा उनको टीम फाइनल पुगिसकेको छ । यदि फ्रान्सविरुद्ध जीत निकाल्न सकेमा यसअघिको संयोग फेरि दोहोरिने छ ।
३. मोरक्को, बेल्जियम र क्यानडाले गरेको संकेत
यसपटकको विश्वकपमा अर्को एउटा गज्जबको संयोग बनेको छ, जसले अर्जेन्टिनालाई खुशी मिल्न सक्ने संकेत गर्छ ।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा समूह चरणमा देखिएको जस्तै संयोग यसपटक पनि दोहोरिएको छ ।
त्यतिबेला मोरक्को आफ्नो समूहको विनर, बेल्जियम आफ्नो समूहको तेस्रो र क्यानडा आफ्नो समूहमा चौथो भएका थिए ।
यसपटक पनि ठ्याक्कै त्यस्तै भयो । मोरक्को समूह एफको विजेता र बेल्जियम तेस्रो हुँदा क्यानडा चौथो स्थानमा रह्यो ।
थोरै फरक चाहिँ के भने अहिले यी तीनै राष्ट्र एउटै समूहमा परे । सन् १९८६ मा भने मोरक्को एफ, बेल्जियम बी र क्यानडा सीमा थिए ।
र, स्पेन पनि
संयोग नै नभने पनि विश्वकपमा आफ्नो पहिलो खेल गुमाएको टीम विजेता रहेको इतिहास बनिसकेको छ । सन् २०१० मा स्वीट्जरल्यान्डसँग पहिलो खेल हारेको स्पेन विश्वकप विजेता बनेको थियो ।
यसपटक अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरेयिबासँग पराजित भए पनि फाइनलमा पुगिसकेको छ । अब सबैलाई प्रतीक्षा आइतबारकै छ ।
संयोग आफ्नो ठाउँमा छन्, तर उपाधि जित्नलाई बलियो टोली फ्रान्सलाई पछि पार्नुपर्ने बाध्यता छ, जुन काम सजिलो पक्कै हुने छैन ।