
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूप्रति आक्रोशसँगै आशाका रुपमा आफूहरूले मतदाताले मत हालेको बताएका छन् । बिहीवार संसद् भवनमा सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै मतदाताहरूले आफूहरूलाई आशाको मत दिएका दाबी गरेका हुन् ।
पार्टी गठनको छोटो समयमै निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेका रास्वपाका प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सभापति लामिछानेले आफूहरूले पाएको मत आक्रोशको मत मात्र नभएको बताए । अरु पनि वैकल्पिक राजनीतिको वकालत गर्ने दलहरू भए पनि आफूहरूलाई नै मत दिनुको कारण आशा पनि भएको बताए । ‘हुन त आक्रोशको मत पनि हो । अनि आशाको मत पनि हो । यसमा आक्रोशको मत कति छ र आशाको मत कति छ म भन्न सक्दिन । तर, हामीप्रति आशा भएकाले नै हामीलाई मत हाल्नु भएको हो नत्र अरु थुप्रै वैकल्पिक शक्तिहरू थिए’, रविले भने ।
उनले अबको पाँच वर्ष परम्परागत ढंगले नै राजनीति गर्ने हो भने आफूहरूका लागि चुनौतीपूर्ण हुने बताए । तर, विधिको शासन स्थापित गर्ने, कानूनी राज स्थापित गर्ने, देश र जनताप्रति प्रतिबद्ध रहने र जनताप्रति सेवक बनेर इमान्दारितापूर्वक काम गर्ने हो भने आफ्नो पार्टीका लागि चुनौतीपूर्ण नभएको उनको भनाइ छ ।