२५ जेठ २०८३, सोमबार
लोकान्तर सम्पादकीय

जालझेल नहोस्, सांसदको गरिमा रहोस्

जालझेल नहोस्, सांसदको गरिमा रहोस्

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ ।

शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले तिरेको करबाट भत्ता खाने सांसदले जनताका पीरमर्का र जनजीविकाका सबाललाई महत्त्वका साथ संसदमा उठाऊन् । 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदाताले निश्चित अभिभारासहित प्रतिनिधिलाई सिंहदरबार पठाएका छन् । मंसिर ४ को फैसलामार्फत जनताले राजनीतिक दलको परम्परागत शासनशैलीप्रति तीव्र विमति जनाएका छन् ।

सरकारका कयौं मन्त्रीको पराजय र स्थापित दललाई चुनौती दिँदै नयाँको उदय यसको संकेत हो ।

देशमा पञ्चायत ढलेर प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन ढलेर गणतन्त्र स्थापना भए पनि जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन ।

अहिले पनि दैनिक हजारभन्दा बढी युवाहरू देशमा भविष्य नदेखेर खाडीका मुलुकमा सस्तो श्रम बेच्न बाध्य छन् । 

नेपालका कुनै स्थानीय पालिका छैनन्, जहाँबाट युवाहरू श्रम बेच्न विदेशिएका नहुन् । सस्तो श्रम बेच्न जाने तिनै युवाहरूलाई राज्यका निकायले गौंडागौंडामा अवरोध र शोषण गरिरहेका छन् ।

बिहीवारको शपथपछि संसद् भवनमा सांसदहरू जलपानका लागि लाइन बसेका थिए । सोही दिन युवाहरू पासपोर्टमा छाप लगाउन त्रिपुरेश्वरमा लाइनमा थिए । 

जनताको विश्वास जितेर या ढाँटेर संसदमा आएका सांसदहरूले कहिलेकाहीँ संसद् भवनबाहिर रहेका युवाको निराशा र आक्रोश बुझून् ।

‘माननीय’ बिल्ला पाएका सांसदहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गरून् । भत्ता पचाउन संसदमा आउने र हाजिर गरेर भागिहाल्ने प्रवृत्ति नदोहोरियोस् । जालझेल नहोस् । संसद्को गरिमा रहोस् ।

salt training

कमेन्ट गर्नुहोस्