०८ असार २०८३, सोमबार
सरकार गठनको सकस

धर्मसंकटमा कांग्रेस : न प्रचण्डलाई प्रधानमन्त्री दिन मन, न त आफैं लिने सामर्थ्य !

पुस ८, २०७९
धर्मसंकटमा कांग्रेस : न प्रचण्डलाई प्रधानमन्त्री दिन मन, न त आफैं लिने सामर्थ्य !

संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन बिहीवार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘अहिले कांग्रेसले प्रधानमन्त्री छाड्न सक्ने अवस्था छैन, प्रचण्डलाई सम्झाइदिनुपर्‍यो ।' 

कांग्रेस उच्च स्रोतका अनुसार देउवाले दोस्रो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई दिन आफू तयार रहेको र अहिले आफ्नो बाध्यता बुझिदिन बाबुरामसँग आग्रह गरेका थिए । पहिलो दुई वर्ष नभई पछिल्लो तीन वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको जनाउ देउवाले दिएका थिए ।

पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई दिएर भए पनि गठबन्धन बचाइराख्न बाबुरामले देउवालाई सुझाव दिएका थिए । पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई बनाउने लबिङमा रहेका बाबुरामको प्रस्तावमा भने देउवा केही बोलेनन् । देउवाले बाबुरामसँग भनेको कुरा प्रचण्डकोमा पुगिसकेको छ । 

प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले गर्नुपर्ने मत बलियो छ । संस्थापन र संस्थापनइतर दुवै समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने एउटै धारणा राखिरहेका छन् । 

बुधवार संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस महामन्त्री गगन थापाले अँध्यारो कोठामा हुने आलोपालोको निर्णय नमान्ने चेतावनी दिएका थिए । गगनको मुखबाट सार्वजनिक भएको भए पनि सत्ता साझेदारीमा पार्टीभित्र संस्थागत र पारदर्शी निर्णय हुनुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समान धारणा छ । 

गगनले सार्वजनिक रूपमै दिइरहेको चुनौती तथा पार्टीका अन्य नेताहरूले समेत माओवादीलाई सरकारको नेतृत्व दिन नहुने भनिरहेको कुरालाई देउवाको ‘बाध्यता’ भनेर बुझ्न कठिन छैन । संसदीय दलमा पराजित भए पनि पार्टी सञ्चालनमा गगन र विश्वप्रकाशलाई माइनस गरेर अघि बढ्न सक्ने अवस्थामा छैनन्, देउवा । 

पार्टीको औपचारिक निर्णयविपरीत जान पनि देउवालाई अप्ठ्यारो छ । गठबन्धनमा आफ्नो पार्टीको संसदीय दलको निर्वाचनपछि ‘पावर शेयरिङ’बारे छलफल गर्ने प्रस्ताव गरेका देउवाले पुस ३ गते कार्यसम्पादन समितिको बैठक राखेर सरकारको नेतृत्व कांग्रेसले लिने निर्णय गराएका थिए । पार्टीको निर्णयलाई देखाएर देउवाले सरकारको नेतृत्व छाड्न नसक्ने अवस्था भनिरहेका छन् ।

‘...प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये प्रतिनिधिसभा सदस्य पदमा सर्वाधिक सीट हासिल गरेको दलको हैसियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक हुन्छ । यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरू लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ,’ पुस ३ गते बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकको १ नम्बर निर्णयमा भनिएको छ । 

यही निर्णयका आधारमा कांग्रेस नेताहरू पहिलो कार्यकालको प्रधानमन्त्री छाड्न नहुने पक्षमा छन् ।

चरम द्विविधामा देउवा

पछिल्ला वर्षमा तुलनात्मक रूपले अन्य दलका नेता भन्दा सुझबुझपूर्ण कदम चालिरहेका देउवा परिस्थिति नियालेर मात्र प्रधानमन्त्रीमा दाबी छाडेका छैनन् । २०७७ फागुन ११ गते पहिलोपटक विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना भएपछि तत्कालीन नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले घरमै गएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा देउवा ‘परिस्थिति परिपक्व नभएको’ भन्दै पन्छिएका थिए । 

दोस्रो विघटनपछि आफू प्रधानमन्त्री बन्ने सुनिश्चितता भएपछि मात्र उनी प्रधानमन्त्रीको उम्मेदवार बन्न राजी भए । उनै प्रचण्ड–माधव नेपालको सहयोगमा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा सहजै सत्ता हस्तान्तरणका लागि तयार देखिएका छैनन् । प्रचण्डलाई गठबन्धन छाड्न पनि नदिने र प्रधानमन्त्री पनि दिई नहाल्ने देउवाको रणनीति छ ।

प्रधानमन्त्रीका लागि नाम सिफारिश गर्न राष्ट्रपतिले दिएको समय घर्किनै लाग्दा बिहीवार साँझ माधव नेपाललाई राखेर प्रचण्डले देउवासँग कुरा गरेका थिए । बुधवार त्रिवि शिक्षण अस्पतालमा माधव नेपाललाई भेट्न पुगेका बेला पनि नेतात्रयबीच पावर शेयरिङबारे कुरा भएको थियो । तर बिहीवार साँझसम्म कुनै सहमति भएको छैन । 

‘बिहीवार साँझसम्म कुनै प्रगति भएको छैन, प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री पाउनुपर्ने अडान राख्नुभयो । देउवाले दोस्रो कार्यकालको लिनुस् भन्नुभयो । अहिलेसम्म कुनै सहमति भएको छैन,’ बिहीवार बालुवाटारमा भएको छलफलबारे जानकार माओवादीका एक नेताले लोकान्तरसँग भने । शुक्रवार साँझपनि दुई नेताहरूबीच छलफलको सम्भावना छ । 

सरकार बनाउनका लागि पर्याप्त बहुमत नभए पनि देउवाले प्रधानमन्त्री दाबी गरिरहेको विषयलाई लिएर माओवादी सशंकित छ ।

‘माओवादीलाई सत्ताबाहिर राख्न एमालेले कांग्रेसलाई बाहिरैबाट समर्थन गर्ने प्रतिबद्धता दिएको हुनसक्छ, त्यसैले देउवा गलेका छैनन्,’ माओवादी स्रोत भन्छ । 

प्रचण्डलाई ‘परजिवी’को संज्ञा दिने नेकपा एमालेको एउटा तप्काले कांग्रेसलाई सरकारमा समर्थन गरेर माओवादीलाई यसपटक सत्ताबाहिर राख्न कोशिश गरिरहेको छ । एमालेकै एउटा खेमा भने प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले लिने दाउमा छ । 

देउवासँग निर्णायक भनिएको छलफलका लागि बालुवाटार जानुअघि प्रचण्डले कोटेश्वरमा पार्टी पदाधिकारीसँग छलफल गरेका थिए । बैठकमा प्रचण्डले कांग्रेससँगको छलफल सकारात्मक रहेको बताएका थिए । उनले रामचन्द्र पौडेलले देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुले कांग्रेस सहमतिका लागि तयार रहेको संकेत मिलेको ब्रिफिङ प्रचण्डले बैठकमा गरेका थिए । 

बिहीवार संसद् भवनमा शपथपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिलेको गठबन्धनबाटै सरकार बन्ने बताएका थिए । पहिलो कार्यकालको प्रधानमन्त्री तपाईं कि देउवा भन्ने प्रश्नमा उनले छलफल चलिरहेको जवाफ दिए । सांसदको शपथपछिको चियापानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अघि बढ्न समेत आग्रह गरेको कुरा लोकान्तरले सार्वजनिक गरेको थियो । एमाले र माओवादीको एउटा समूह वामपन्थी तालमेलको तयारीमा लागिरहेको छ । 

प्रचण्ड कुनै पनि बेला एमालेसँग नजिकिन सक्छन् भन्ने भय र संशय देउवामा छ । 

दिन पनि नसक्ने, गुमाउन पनि नचाहने

प्रत्यक्षतर्फ तीन गुणाभन्दा कम सीट जितेको माओवादीलाई सरकारको नेतृत्व सुम्पिनु अहिलेको जनमतको अपमान हुने कांग्रेसको संस्थागत धारणा छ । कांग्रेसले ५७ सीट जित्दा माओवादीले १८ मात्र जितेको छ, त्यो भनेको ३९ सीट कम हो । 

‘१८ सिट भएको पार्टीलाई प्रधानमन्त्रीको किस्ती सुम्पिएर पछि कांग्रेस कुन मुख देखाएर जनतामा जान मिल्छ ? प्रचण्डको पार्टीले प्रत्यक्षमा ३० सिट हाराहारी जितेको भए परिस्थिति बेग्लै हुन्थ्यो,’ बिहीवार संसद् परिसरमा कांग्रेसका एक सांसदले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए । 

लोकान्तरसँगको अन्तर्वार्तामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीमा कांग्रेसको दावी स्वाभाविक हो भन्नेमा प्रचण्ड समेत स्पष्ट रहेको बताएका थिए । कांग्रेसमै देउवा पक्षका कतिपय नेताहरूले भने प्रचण्डलाई नै साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिइरहेका छन् । अहिले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर भए पनि राष्ट्रपति र सभामुख आफूले लिनुपर्ने देउवा पक्षका ती नेताहरूको जोड छ ।

माओवादीले पाएको जनमत सरकारको नेतृत्व गर्ने खालको नभए पनि उसलाई रिझाउनु पर्ने कांग्रेसको बाध्यता छ । माओवादी बिच्केर एमालेसँग पुग्यो भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेशका मुख्यमन्त्रीसहित सबै गुमाउनुपर्ने खतरा छ । त्यो जोखिम मोल्ने अवस्थामा जान पनि कांग्रेस तयार देखिँदैन ।

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आइतवार साँझ ५ बजे सकिँदैछ । आइतवार साँझसम्म बहुमतको प्रधानमन्त्री सिफारिश गर्न नसके राष्ट्रपतिलाई पुनः केही दिन समय थप्न आग्रह गर्ने या धारा ७६ (३) अनुसारको सरकार गठनमा जान सक्ने झिनो सम्भावना रहेको पनि आकलन भइरहेका छन् ।

७६ (३) अनुसार  प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्