
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवानिवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।
छत्रबहादुर थापा स्मृति ट्रष्टले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्याएको योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए ।
कार्यक्रममा प्रधानसेनापति शर्माले भने, ‘राष्ट्र निर्माण र समाजसेवामा पुर्याएको योगदानलाई चिरस्थायी राख्न ट्रष्टको ठूलो भूमिका छ, राष्ट्रप्रति अमूल्य योगदानको कदर हुनुका साथै ट्रष्टबाट आयोजित सम्मानबाट सबैलाई हौसला प्रदान गर्नेमा दुईमत छैन ।’
कार्यक्रममा थापाको योगदानको उचित संस्मरण गराउँदै नेपाली सेनामा रहेर गरेका असल काम, समाजसेवा, देशविदेशमा नेपालको प्रतिष्ठा र समग्र राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई चिरस्थायी राख्ने उद्देश्यस्वरूप ‘छत्रबहादुर थापा स्मृति ट्रष्ट’को स्थापना गरिएको पूर्व उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए ।