
भोलि हुने प्रदेशसभाको शपथ ग्रहणमा पाँच जनाले मातृभाषामा सपथ लिने भएका छन् । पाँच जना प्रदेश सांसदले मातृभाषामा शपथ लिने भएका हुन् ।
आर्थिक मामिलामन्त्री समेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बूले लिम्बु भाषामा सपथ लिने भएकी छन् ।
यस्तै, नेकपा (एकिकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा यक्थुङ÷लिम्बू भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा मातृभाषामा शपथ ग्रहण गर्ने सांसदरूलाई सूचना जारी गरेको थियो ।
पुस ५ गते सार्वजनिक सूचना जारी गरी मातृभाषामा शपथ लिने दिनभन्दा तीन दिन अगावै विवरण उपलब्ध गराउन प्रदेशसभा सचिवालयले सूचना जारी गरेको थियो । पाँच जनाले मात्रै भातृभाषामा लिन निवेदन दिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए ।
भोलि १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथ ग्रहण गराउने र गनगाईले अन्य सदस्यलाई १ः३० बजे प्रदेशसभा भवनमा शपथ गराउने कार्यक्रम रहेको छ । राष्ट्रिय पोशाक तथा संस्कृति झल्काउने पोशाकमा शपथ ग्रहणमा उपस्थित हुनसमेत प्रदेशसभा सचिवालयले आग्रह गरेको छ ।
प्रदेशसभामा ९३ सांसद छन् । प्रत्यक्षमा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद रहेका छन् ।