
पर्यटन व्यवसायीहरूले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरूले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । उनीहरूले नेपालभर पर्यटकको लागि आवश्यक सेवा–सुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए ।
ठमेल पर्यटन परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपालको पहिलो पर्यटकीय नगरी ठमेल भएकाले सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । उनले ९९ प्रतिशत पर्यटन व्यवसायी ठमेलमा नै रहेकाले नेपालमा आउने ८० प्रतिशत पर्यटकहरू ठमेलमा पुग्ने गरेको बताए ।
उनले काठमाडौं महानगरले स्थानीय निर्वाचनपछि सार्वजनिक शौचालय घोषणा अभियान गरे पनि कार्यान्वयन नभएको भन्दै ठमेलमा सरकारले कम्तिमा ४ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताए । उनले सार्वजनिक शौचालय नहुँदा ठमेलमा पर्यटकहरू आउन नमान्ने गरेको समेत गुनासो गरे । शर्माले ठमेलमा पर्यटक आगमन बढाउनको लागि सडक कालोपत्र, शान्ति सुरक्षा व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
अध्यक्ष शर्माले पर्यटक आकर्षण बढाउनको लागि ठमेललाई ब्युटिफिकेशन गर्ने काम शुरु गरिएको बताए । उनले कोरोना महामारीपछि सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा आउन थालेको बताए । उनले ठमेल क्षेत्र कारोना महामारीको कारण ९९ प्रतिशत थला परेको व्यवसाय लयमा आउन थालेको बताए । उनले अहिले ठमेलका होटलहरूमा ६० प्रतिशत बढी पर्यटकहरू रहेको बताए ।
अध्यक्ष शर्माले एक महिनादेखि जारी ठमेलको तार व्यवस्थापन अभियानमा शनिवारसम्म ४५ टिपर तार व्यवस्थापन गरिएको बताए । उनले अहिले ठमेलको ८५ प्रतिशत तार व्यवस्थापन भएको र १५ प्रतिशत तार व्यवस्थापन गर्न बाँकी रहेको बताए । ठमेलका हरेक गल्लीहरूमा बत्ति जडान गर्ने र सिसिक्यामारा जडान गर्ने तयारी रहेको पनि बताए ।
त्यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बाँस्तोलाले कोरोना महामारी भन्दा पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धि भएको बताए । उनले सन् २०१९ मा भित्रिएका पर्यटकको हाराहारीमा २०२३ भित्र नै पुग्ने अपेक्षा व्यवसायीहरूले बताए ।
‘नेपालमा पछिल्लो समय पर्यटनको आगमन वृद्धि हुँदै गएको छ । जुन ५ लाख ६७ हजार पर्यटक आगमन देखिँदै गर्दा सन् २०२३ मा राम्रो हुन्छ भन्ने आशा जागेको छ । धेरै पर्यटक नेपालमा ल्याउनको लागि सरकारले डिजिटल प्रविधिअनुसार मार्केटिङमा जोडदार रुपमा सहजिकरण गर्नुपर्छ । सन् २०१९ मा आउने पर्यटकको रेसियो २०२३मा नै पुग्नसक्ने देखिएको छ । त्यसको लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ’, बास्तोलाले भने ।