
कसैको ‘उक्साहट’मा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन विगतमा गरेको भद्र सहमति तोड्दैछन् भन्ने सुइँको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै थाहा पाएका थिए ।
संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन गएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँगको भेटमा देउवाले ‘पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई दिन नसक्ने भएँ,सम्झाइदिन पर्यो ’ भनेर आग्रह गरेका थिए ।
यहीबीचमा बिहीबार सांसदहरुको शपथपछि कांग्रेसका एक नेताले पहिलो होइन दोस्रो कार्यकालको प्रधानमन्त्रीका लागि तयार रहन भन्दै प्रचण्डसँग कुरा गरेका थिए । यस्तै शनिबारसम्म आइपुग्दा कांग्रेस नेता रामचन्द्र पौडेल,प्रकाशमान सिंह,पूर्णबहादुर खड्कादेखि विमलेन्द्र निधिसम्मको लर्को प्रचण्डको निवासमा लागिसकेको थियो । रामचन्द्र बाहेक सबैले एउटै खालको सन्देश लिएर पुगेका थिए, ‘पहिलो कार्यकालको प्रधानमन्त्री दिन नसकिने भयो,सभामुख र उपराष्ट्रपति लिनुस् ।’
राष्ट्रपति बन्न पाउने लोभमा संसदीय दलको नेतामा शेरबहादुर देउवाको प्रस्तावक बनेका रामचन्द्र पौडेलले भने प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि गठबन्धन बचाउनु पर्ने कुरा गरेका थिए । आफूलाई केन्द्रमा राखेर प्रचण्डको नाम लिएको भन्दै शेरबहादुर देउवा भने पौडेलसँग रुष्ट थिए ।
प्रधानमन्त्रीमा नाम सिफारिस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा प्रचण्डले बिहीवार साँझपनि देउवासँगको भेटमा शुक्रवारसम्म निर्णय दिन भनेका थिए । तर,देउवा टसमस भएनन् । पहिलो कार्यकालको प्रधानमन्त्री दिन सक्दिनँ भने । कांग्रेसका दोस्रो तहका नेतामार्फत प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नपाए गठबन्धन टुट्ने भनेर सन्देश पठाएका थिए,तर देउवाले त्यसलाइ घुर्की मात्र ठाने ।

‘राष्ट्रपतिले दिएको समयमा संविधानको धारा ७६ (२) को सरकार बनेन भने उपधारा ३ अन्तरगतको सरकार बन्छ र त्यो बेला एमालेले सरकार बाहिर बसेर हामीलाई समर्थन गर्छ भन्ने देउवापक्षको बुझाइ थियो । प्रचण्डलाई गलाएर उपधारा २ अन्तरगतकै सरकार बनाउनेमा देउवाको ध्याउन्न थियो,’ कांग्रेस संस्थापन इतरका एक केन्द्रीय सदस्यले आइतबार साँझ लोकान्तरसँग भने ।
भद्र सहमतिबाट पछि हटेर कांग्रेसले धोका लिन लागेको सुइँको पाएका प्रचण्डले ‘ट्याक टू’ च्यानलमार्फत एमालेसँग संवाद बढाइरहेका थिए । नेता वर्षमान पुन र महासचिव देव गुरुङ यस काममा लागेका थिए ।
ओलीलाई बधाई दिने नाममा गुरुङले गत साता बालकोटमा गएर संवादको थालनी गरेका थिए । एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेलले माओवादीसँग संवाद गर्ने तथा प्रचण्ड र ओलीलाई मिलाउने कोशिष गरेका थिए । पौडेल ती नेता हुन्,जसले २०७४ सालमा पनि ओली र प्रचण्डलाई मिलाएका थिए । चुनाव जितेलगत्तै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि वाम तालमेलको कुरा गरेका थिए ।
आइतबारका रोमाञ्चक ५ घण्टा
कांग्रेससँग सहमतिको लागि अन्तिम प्रयास गर्न भन्दै प्रचण्ड आइतबार बिहान ११ बजेतिर बालुवाटार पुगेका थिए । कांग्रेसले प्रधानमन्त्री छाड्दैन भन्ने प्रचण्डले थाहा पाइसकेका थिए,जुन सन्देश शनिबार नै माओवादीले सञ्चारमाध्यममार्फत चुहाएको पनि थियो ।
देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री माओवादीलाई नदिने निश्चित रहेको बुझ्दाबुझ्दै पनि प्रचण्ड औपचारिकता पूरा गर्न मात्र बालुवाटार गएका थिए । चुनावअघि वर्षाैँसम्म चलाउछौँ भनेपनि धोका भएपछि गठबन्धनबाट बाहिरिने निहुँका लागि प्रचण्ड त्यहाँ पुगेका थिए ।

‘कांग्रेसकोतर्फबाट राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन नसकिने भयो भनेर बिहानै खबर आएको थियो,देशले मध्यावधि धान्न सक्दैन,त्यसैले भर्खर बनेको सदनलाई बचाउनु पर्छ भनेर हामीले राजनीतिक पहलकदमी लिने निर्णय गरयौँ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।
प्रचण्ड र देउवाले केहीबेर छलफल गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगे । नेपालले प्रचण्डको समर्थन गरेनन् बरु,देउवा प्रचण्ड एकले अर्कोलाइ नछाड्ने भए आफू विकल्प हुने दावी गरे । प्रधानमन्त्री नछाड्ने देउवाको संकेतपछि प्रचण्ड बिच्किए ।
‘तपाईंहरुबाट नसोचेको धोका भयो,धेरै कुरा गर्नु छैन’ भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिए । बालुवाटारबाट प्रचण्ड सिधै बालकोट जाने खबर बाहिरियो । तर प्रचण्ड खुमलटारस्थित निवासमा गएर पहिला नेताहरुलाई पठाए,अनिमात्र बालकोट लागे ।
यसबीचमा देउवाले कहिले प्रचण्ड र कहिले ओलीलाई फोन गरेका थिए । धेरै पार्टीसँग पद बाँड्नु भन्दा हामी मिलौँ भनेर देउवाले ओलीलाई फकाएका थिए । माओवादी नेताहरुमा अनुसार देउवाले पाँचै वर्ष प्रधानमन्त्री खानुस् भनेर प्रचण्डलाई फोन गरेका थिए । माओवादीका नेताहरुका अनुसार प्रचण्डले देउवालाइ भनेका थिए, ‘धोका भयो देउवाजी धेरै ढिला भइसक्यो ।’ उसो त देउवाको हठले प्रचण्ड बिच्किएको भन्दै बालुवाटारमा रामचन्द्र पौडेल लगायतका नेताहरु बम्किएका थिए ।
यतिसम्मकि प्रचण्डले बालुवाटारबाट बाहिरिएर बालकोट पुग्ने बेलासम्म कांग्रेसका नेताहरुले प्रचण्ड खाना खान निस्किएका र केहीबेरमा आउने भने पत्रकारलाई ढाँटेका थिए । देउवाका विश्वासपात्र ज्ञानेन्द्र कार्की अन्तिम घडीमा निर्णय हुने प्रतिक्रिया दिन समेत पछि परेनन् ।

बालुवाटारबाट प्रचण्ड बालकोट पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने,जसपाका अशोक राई पुगिसकेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यसअघि नै ओलीसँग भेटेर पार्टीको बैठकमा पुगेका थिए ।
राष्ट्रपतिले दिएको समय सकिन दुई घण्टा बाँकी रहँदा दिउँसो ३ बजेको समयमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय बाहिरियो । यतिबेला सम्मपनि बालुवाटारबाट देउवाले चलखेल गरिरहेका थिए ।
‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान सम्झेर नयाँ गठबन्धनका सूत्राधार नेताहरुले बाहिर नगइ बालकोटबाट सिधै शीतलनिवास जाने निर्णय गरे । निर्णय गरेर तल ओर्लेका प्रचण्ड र ओली पुनः बार्दलीमा पुगेर आत हल्लाए । पछिल्ला बर्षमा बालकोटको बार्दली एउटा राजनीतिक बिम्ब बनेको छ ।
सवा ४ बजेको समयमा ओली,प्रचण्ड,रवि लगायतका नेताहरु १६९ सांसदको समर्थन लिएर शीतलनिवास पुगे । नेताहरु शीतल निवास छँदै राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिन् ।

प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने हठका कारण प्रतिनिधि सभामा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ताबाहिर पुगेको छ । पहिलो कार्यकालको प्रधानमन्त्री पाए माओवादीले अन्य सबै पद कांग्रेसका लागि छाडेको थियो । तर,प्रचण्डलाई गलाएर सभामुखमा सीमित गराउने देउवाको रणनीतिले फेल खायो ।
चुनावमा पहिलो दल बनेको पार्टीलाई सत्ताच्युत बनाएको भन्दै कांग्रेस कार्यकर्ताले शेरबहादुर देउवाको आलोचना गरिरहेका छन् । यो परिस्थिति आउनुमा देउवाको कोर टिमका सदस्यहरुको भूमिका रहेको भन्दै कांग्रेस वृत्तमा चर्को आलोचना भइरहेको छ ।